सुदूर नेपाललाई विश्वसँग जोड्दै

पर्यटन क्षेत्रमा सेवाको गुणस्तर बढाऔँ : मन्त्री कँडेल

२०७८ चैत्र १४, ०७:२८ रासस

गण्डकी : गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले पर्यटन क्षेत्रमा सङ्ख्यासँगै सेवाको गुणस्तर बढाउनुपर्ने बताएका छन्। 

बागलुङमा आजदेखि सुरु भएको पर्यटन तथा होटल व्यवसायीका लागि तीनदिने व्यावसायिक तथा क्षमता अभिवृद्धि कार्यक्रममा मन्त्री कँडेलले कोरोना महामारीपछि थला परेको पर्यटन व्यवसायलाई उकास्न पर्यटन क्षेत्रका व्यवसायीले सङ्ख्याका साथै आफ्ना सेवाको विकासमा समेत ध्यान दिन आग्रह गरे। 

“केही दिनअघि पोखरामा पर्यटकको एक समूहले एकैदिनमा रु दुई लाख पर्ने कोठा चाहियो भनेर प्रस्ताव पठाए, उनीहरुको प्रस्तावअनुसारको कोठा हामीसँग थिएन्, यही विषय अहिले चर्चामा छ”, मन्त्री कँडेलले भने, “पर्यटकलाई आउ भनेर मात्रै भएन, बस र खाउ भन्ने वातावरण र सुविधा हामीले दिनसक्नुपर्छ।” 

उनले पर्यटन क्षेत्रमा नयाँपनको आवश्यकता रहेको औँल्याए। “व्यवसायी नयाँपन दिन लाग्नुहोस्, तब मात्रै पर्यटक आउँछन्”, मन्त्री कँडेलले भने। 

मुक्तिनाथ बेद विद्याश्रमका संरक्षक ऋषि स्वामी प्रपन्नाचार्यले स्वदेशी उत्पादनको प्रयोगमा जोड दिए। पर्यटकको सम्मानका लागि प्रयोग हुने खादा मालादेखि मन्दिरमा चढ्ने फूलसमेत आयात हुने गरेको भन्दै उहाँले स्थानीय उत्पादनको प्रयोगले देश समृद्ध बन्ने बताए। 

होटल व्यवसायी सङ्घ गण्डकी प्रदेश समितिले नेपाल पर्यटन बोर्डसँगको समन्वयमा कार्यक्रम आयोजना गरेको हो। 
 

कमेन्ट लोड गर्नुस