सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका भलिबल खेलाडीलाई टिकाइ राख्न चुनौती

२०७८ चैत्र १२, ११:५१ रोशन भट्ट

धनगढीः सुदूरपश्चिम प्रदेश खेलाडी उत्पादनमा अगाडि छ। सबै खेलहरुमा सुदूरपश्चिमका खेलाडीको भूमिका महत्वपूर्ण छ। विषेशगरी राष्ट्रिय स्तरको भलिबल प्रतियोगितामा पनि प्रदेशका खेलाडीको अब्बल सहभागिता रहेका छ। तर खेलाडीलाई भने यसै क्षेत्रमा टिकाइ राख्न चुनौती देखिएको छ। 

अपेक्षाकृत रुपमा प्रतियोगिताहरु आयोजना हुने क्रम पनि घट्दै गएपछि समस्या भएको सुदूरपश्चिमका भलिबल खेलाडी डम्बरराज भट्टराइले बताए। ‘प्रतियोगिताले मात्रै हामीलाई  पुग्दैन। आर्थिक अभावकै कारण केही खेलाडीहरु पलायन हुन बाध्य छन्। हाम्रो तलबको व्यवस्था हुनुपर्छ,’ उनले भने। समग्र सुदूरपश्चिममा नै भलिबललाई विशेष रुपमा महत्त्व दिने गरिन्छ। प्रदेशका गाउँ–गाउँमा भलिबल खेलप्रतिको मोह घटेको छैन। अहिले सुदूरपश्चिमका भलिबल खेलाडीहरु विभिन्न राष्ट्रिय टिममा पनि सहभागी भएका छन्। विभागिय टोलीमा पनि सुदूरपश्चिमका खेलाडीको वर्चश्व छ। 

भलिबलको राष्ट्रिय टोलीमासमेत प्रदेशका खेलाडीहरु छनोट हुने गरेका छन्। तर पनि यहाँको खेल क्षेत्रमा अपेक्षाकृत रुपमा लगानी हुन सकेको छैन। खेल मैदान तथा भौतिक संरचना र पूर्वाधारको अभाव रहेकाले समस्या भएको सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहले बताए। ‘अहिलेकै अवस्था हुने हो भने खेलाडीलाई टिकाउन सकिन्न। प्रदेश सरकारले खेलाडीलाई पारिश्रमिक उपलब्ध गराउनुपर्छ’ उनले भने।  विभागिय टिम भन्दा बाहिरबाट खेल्ने प्रदेशका खेलाडीको पारिश्रमिक भने तोकिएको छैन। प्रतियोगिता आयोजना भएपछि मात्रै केही आर्थिक स्रोत जुट्ने गरेको छ। तर पछिल्लो दुई वर्षसम्म प्रतियोगिता आयोजना नभएपछि खेलाडीलाई झनै समस्या भएको छ। 

अहिले सुदूरपश्चिममै राष्ट्रिय र प्रदेशस्तरका प्रतियोगिता हुन थालेका छन्। खेलाडीका लागि आवश्यक भत्ता र न्यूनतम पारिश्रमिकको व्यवस्था गर्नुपर्ने माग गरिएको छ। पहिलो चरणमा प्रदेशका लागि राष्ट्रिय प्रतियोगिता खेल्ने खेलाडीको आर्थिक अवस्था बलियो बनाउनुपर्ने माग गरिएको हो। 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस