सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘हेली टुर’ले खप्तड र बडिमालिकामा चहलपहल

२०७८ फाल्गुन १३, ०६:३३ रोशन भट्ट

धनगढीः सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको संक्रमणले सुस्ताएको पर्यटन व्यवसाय लयमा फर्किन थालेको छ। टुर प्याकेज सञ्चालन भएपछि प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र खप्तड र बडिमालिकामा त आन्तरिक पर्यटकको चहलपहल नै बढेको छ। फागुनको पहिलो साताबाट ‘हेली टुर’ सञ्चालन भएपछि खप्तड र बडिमालिकामा आन्तरिक पर्यटक पुग्न थालेका हुन्।

अहिलेसम्म हेली टुरमा एक सय ९२ जना सहभागी भइसकेका छन्। बडिमालिकामा पनि १५ जनाले अकाशबाटै अवलोकन गरेको खप्तड होमस्टे झिग्राना तथा खप्तड एडभेन्चर टुर्सका प्रबन्ध निर्देशक दीपकबहादुर खड्काले बताए। ‘बाक्लो हिउँका कारण हेलिकोप्टर अवतरण हुन नसकेपछि १५ जनाले आकाशबाटै अवलोकन गरेका हुन्,’ उनले भने, ‘अन्य एक सय जनाभन्दा बढी तयारी अवस्थामा रहेका छन्।’

खप्तड, बडिमालिकालगायत पर्यटकीय गन्तव्य अहिले पनि हिउँले सेताम्मे छन्। उक्त क्षेत्रको भ्रमण गर्ने चाहना भएका तथा समय अभावका कारण जान नसक्नेहरूका लागि प्याकेज ल्याइएको हो। फागुन १ गतेबाट सञ्चालन भएको उक्त प्याकेज १५ गतेसम्म निरन्तर रहने बताइएको छ। प्याकेजमा खप्तड घुम्न चाहनेलाई दीपायल विमानस्थल, झिग्राना, धनगढी, महेन्द्रनगर र साँफेबगरबाट हेलिकोप्टरले लैजाने र ल्याउने गरिरहेको छ।

घुमफिरमा जाने पर्यटकले स्थानका हिसाबले प्रतिव्यक्ति १२ हजारदेखि ४० हजार रुपैयाँसम्म शुल्क तिर्नुपर्ने हुन्छ। सुदूरपश्चिम प्रदेश भारतका विभिन्न सहरसँग जोडिएकाले यस कार्यक्रममा भारतीय पर्यटकसमेत सहभागी हुने अपेक्षा गरिएको छ। प्रदेश बाहिरका पर्यटकलाई समेत जोड्न सके उक्त क्षेत्रको अझै प्रचारप्रसार हुने विश्वस गरिएको छ।

खप्तड र बडिमालिकासँगै उक्त प्याकेजमा यस क्षेत्रका अन्य पर्यटकीय क्षेत्रलाई समेट्नु पर्ने सुझाव धेरैको छ। यसमा तीनै तहका सरकारले पनि ध्यान दिनुपर्ने देखिएको डोटीको शिखर नगरपालिकाका मेयर रहेका खप्तड हेली टुर यात्री सीताराम जोशीले बताए। ‘खप्तड घुम्न आउन सबैलाई आग्रह गर्छु,’ उनले भने, ‘अन्य पर्यटकीय क्षेत्रलाई पनि यो प्याकेजमा जोड्नु पर्छ।’ गत वर्ष पनि खप्तड र बडिमालिकामा हेली टुर सञ्चालन गरिएको थियो। खान बस्नको उचित व्यवस्था भए विदेशी पर्यटकको पनि आकर्षण बढ्ने विश्वास गरिएको छ।

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस