सुदूरपश्चिममा बल्ल आइपुग्यो सय मेट्रिक टन युरिया
वीरेन्द्र भट्ट, धनगढीः रासायनिक मल किसानका लागि हाहाकारको रुपमा देखा पर्न थालेको छ। सरकारी अनुदानको मल भित्र्याउन हरेक वर्ष प्रक्रियामै हुने अलमलका कारण यहाँका किसान मलविना नै खेती गर्न बाध्य छन्। उसो त ७० प्रतिशत कृषि सामग्री कम्पनी लिमिटेड र ३० प्रतिशत साल्ट ट्रेडिङ कर्पोरेशनले मल उपलब्ध गराउने जिम्मेवारी बोकेका छन्। तर सुदूरपश्चिम प्रदेशका किसानले भने विगत १० वर्षदेखि आवश्यक मल पाउनै सकिरहेका छैनन्। उनीहरुलाई अन्नबाली लगाउने बेला सधैँ मलको हाहाकार हुने गरेको छ।
सुदूरपश्चिममा युरियाको माग ३५ देखि ४० हजार मेट्रिक टन हो। तर ५ हजार मेट्रिकटन पनि आपूर्ति नहुँदा किसानको समस्यामा राजनीतिक नेतृत्व समेत मुकदर्शक भएको किसानको गुनासो छ। किसानलाई कात्तिक पहिलो साता नै मल चाहिएको थियो। तर मंसिर महिनासम्म किसानले मल पाउन सकेनन्। कात्तिक पहिलो साता आइपुग्नुपर्ने युरिया बल्ल आइपुगेको कृषि सामग्री कम्पनीले जनाएको छ। निकै ढिलोगरी त्यो पनि न्यून मात्रामा युरिया आएकाले वितरणमा समेत असहज भएको मल वितरणको जिम्मा लिएका सहकारीहरुको गुनासो छ।
६ हजार मेट्रिक टन मल माग गरेको कृषि सामग्री कम्पनी धनगढीले सोमबार मात्र निकै न्यून परिणाममा मल पाएको छ। ‘किसानका लागि भन्दै करिब ६ हजार मेट्रिक टन मलका लागि माग गरेका थियौं, तर निकै ढिलो गरी एक सय मेट्रिकटन युरिया मात्र आइपुगेको छ’, कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीका निमिक्त प्रमुख नबलसिंह बोगटीले भने। २०७८ साउनयता कूल तीन हजार ५ सय ५० मेट्रिकटन मात्रै मल प्राप्त भएको कम्पनीको तथ्यांक छ।
सुदूरपश्चिममा रासायनिक मलको माग वर्षेनि बढ्दै गएको छ। तर आपूर्ति भने सोही अनुसार घट्दै गएको किसानको गुनासो छ। विगतमा कैलाली र कञ्चनपुरमा मात्र रासायनिक मलको माग हुने गरेको थियो। तर पछिल्लो समयमा पहाडी जिल्लाहरुमा समेत मलको माग बढ्न थालेपछि आपूर्ति गर्न समस्या भइरहेको कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनको तर्क छ।
मल आपूर्तिको जिम्मा पाएका कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनले घरेलु मलका लागि किसानले गाइभैँसी पाल्न छोड्नु तथा व्यावसायिक कृषि उत्पादनका लागि रासायनिक मलको प्रयोग बढाउँदै जानुले पनि मल अभाव भएको बताउँदै आएको छ।