सेती प्रादेशिक अस्पतालमा आइसीयूको अभाव
धनगढीः डोटी केआइसिंहका दीर्घ कुँवरको स्वास्थ्यमा समस्या आएपछि शनिबार दीपायल लगियो।
दीपायलमा उपचार सम्भव नभएपछि चिकित्सकले धनगढी लैजान सुझाव दिए। कुँवरका आफन्तले पनि चिकित्सकै सल्लाहअनुसार शनिबार नै उनलाई धनगढी पुगाए। शनिबार राति २ बजे उनलाई सेती प्रादेशिक अस्पताल पुगाइएको भए पनि आइतबार बिहान १० बजेसम्म कसैले वास्ता नगरेको गुनासो आफन्तको छ। उनलाई मुटु सम्बन्धि समस्या थियो।
कुँवरको अवस्था जटिल भएका कारण आइसीयूको आवश्यकता थियो। तर सेती प्रादेशिक अस्पतालले आइतबार बिहान मात्रै आइसीयूको बेड खाली नभएको खबर गरिएको कुँवरका आफन्त सुरेश बम बताउँछन्।
‘राति दुई बजे नै हामी अस्पताल पुगेका थियौ,’ उनले भने, ‘बिहान मात्रै आइसीयू बेड खाली छैन भनियो, त्यसपछि हामीलाई समस्या भयो।’ सुदूरपश्चिम प्रदेशका २८ लाख नागरिकको स्वास्थ्यसँग प्रत्येक्ष जोडिएको सेती प्रादेशिक अस्पतालमा आइसीयू सञ्चालनमा आएको ५ वर्ष भयो।
अस्पतालमा पहिलो पटक २०७४ सालमा ४ बेडबाट आइसीयू सेवा सुरु गरिएको थियो। सेवा सुरु भएको ५ वर्ष हुँदा पनि बेड थप्न भने बेवास्ता भइरहेको छ। ५ वर्षको अवधीमा एक बेड मात्रै थप भएको छ। जटिल प्रकृतिका बिरामीका लागि आइसीयू बेड आवश्यक पर्ने भए पनि चरम अभाव हुँदा समस्या भएको हो। आइसियू बेड अपुग भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले बताए।
‘आइसीयूको निकै अभाव छ,’ उनले भने, ‘बेड थप्नका लागि पहल भइरहेको छ।’ प्रदेशकै रेफेरल अस्पतालका रुपमा रहेको सेती प्रादेशिकलाई न्यूनतम २५ बेड आवश्यक रहेको अनुमान गरिएको छ।
तर ५ बेड मात्रै सञ्चालन हुँदा प्रदेशवासीले हैरानी खेप्दै आएका छन्। ५ बेडमा दैनिक विरामी भर्ना भएका हुन्छन्। अन्य जटिल प्रकृतिका बिरामीले अन्यत्र जानु पर्ने बाध्यता छ। सुविधा थप्न भने सुदूरपश्चिम सरकार उदासिन छ। धनगढीमा आवश्यक मात्रामा आइसीयू सेवा सञ्चालन नहुँदा विरामीका आफन्तले चर्को खर्च गरेर नेपालगञ्ज, चितवन, काठमाडौं लगायत भारतका विभिन्न सहरमा जानुपर्ने बाध्यता छ।
तर प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले आइसीयू बेड थप्नका लागि काम भइरहेको दाबी गरे। ‘सेती प्रादेशिक अस्पतालमा छिट्टै २५ बेड आइसीयू सञ्चालन हुने गरी काम भइरहेको छ,’ उनले भने, ‘प्रदेशका अन्य अस्पतालमा पनि आइसीयू सेवा सञ्चालन गर्ने तयारी हुँदैछ।’