सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरमा ६५ हजार मेट्रिकटन पराल नष्ट, पशुपालक किसानलाई चिन्ता

२०७८ कार्तिक २४, ११:२४ खबर संवाददाता

वीरेन्द्र भट्ट, धनगढीः सुदूरपश्चिम प्रदेशभित्र १६ लाख ४६ हजार २ सय ७८ गाई र ५ लाख ९९ हजार ३५ भैँसी छन्। गाईभैँसीका लागि ४५ प्रतिशत आहार भनेकै पराल हो। तर बेमौसमी वर्षाका कारण यो वर्ष कैलालीमा ४० हजार र कञ्चनपुरमा २५ हजार गरी ६५ हजार मेट्रिकटन पराल नष्ट भएपछि पशुचौपायलाई आहार खुवाउन किसानलाई समस्या भएको छ। 

भिजेको पराल काम नलाग्ने भएपछि यतिबेला पराल खोज्न किसानलाई हम्मेहम्मे परेको छ। यसअघि २ लाख मूल्य बराबरको पराल किनेर राखेको भएपनि ७० को संख्यामा रहेका गाईवस्तुलाई खुवाउँदा सकिएको कामधेनु गाई फार्म धनगढीकी निर्देशक रिता अवस्थीले बताइन्। ‘यस वर्ष गाई थप्ने योजना थियो तर कहिँकतै पराल पाउन नसकिएपछि गाई फार्ममा रहेका दर्जनौ गाईवस्तुलाई के खुवाउने भन्ने चिन्तामा छौँ’ उनले भनिन्, ‘वर्षाका कारण परालमा क्षति भएपछि ताजा पराल पाउन निकै समस्या भएको छ।’ 

असोज ३१ गतेदेखि तीन दिनसम्म परेको अविरल वर्षाका कारण किसानलाई पराल कुहिएको चिन्ता थपिएको छ। कात्तिकमा जोहो गरेको पराल पशुलाई वैशाखसम्म खुवाउने गरिन्छ। तर लगातारको वर्षाले पराल खेतबारीमै भिज्दा सुदूरपश्चिमका पशुपालक किसानलाई पशुपालनमा समस्या थपिएको छ। 

कैलाली र कञ्चनपुरमा उत्पादन हुने परालमध्ये ८० प्रतिशत कुहिएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय अन्तर्गत रहेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कैलालीका वरिष्ठ पशु विकास अधिकृत डाक्टर हेमराज अवस्थीले बताए। ‘कैलाली कञ्चनपुरमा उत्पादित पराल पहाडी जिल्लामा मात्र नभएर कर्णाली प्रदेश समेत निर्यात हुने गरेको थियो, तर वर्षाका कारण ८० प्रतिशत परालमा क्षति पुगेपछि पशुचौपायलाई आहार खुवाउन किसानलाई समस्या भएको छ’ उनले भने। 

भिजेको परालमा फ्युसारियम र एस्परजिलर्स नामक खतरानाक ढुसी लाग्ने भएकोले यस प्रकारको पराल पशुलाई खुवाउँदा पाचन प्रणाली कमजोर हुने, छाला तथा खुर लगायत बाह्य भागमा पनि असर पर्नुका साथै पुच्छर झर्ने रोग लाग्ने गरेको पशु चिकित्सक बताउँछन्। पराल नहुँदा पशुलाई यस वर्ष भोकमरीको समस्या थपिने सुनिश्चित छ। 

त्यस्तै बाढी र डुबानबाट सबैभन्दा बढी कैलालीमा ४ अर्ब ६३ करोड ३४ लाख बराबरको धानबालीमा समेत क्षति भएको छ। कैलालीमा धानबाली लगाइएको ७८ हजार २५ हेक्टर क्षेत्रफलमध्ये ३९ हजार ३ सय ५६ हेक्टर क्षेत्रफमा लगाइएको धान पूर्णरुपमा क्षति पुगेको छ। जिल्लामा २४ हजार २ सय ५४ हेक्टर क्षेत्रफलमा लगाएको धानबालीमा आंशिक क्षति पुगेको सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस