ग्राहकलाई ठग्दै धनगढीका बैंक, २४सैं घण्टा खोल्नुपर्ने एटीएम राति बन्द
धनगढीः धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का स्थानीय चन्द्रदेव जोशी गत हप्ता मात्रै एक जना बिरामी लगेर अस्पताल गए। राति ११ बजेको समयमा सेती प्रादेशिक अस्पताल पुगेका जोशीलाई बिरामीको लागि औषधि खरिद गर्न नगद रुपैयाँ आवश्यक पर्यो। एटीएम कार्ड प्रयोग गर्न जोशी अस्पताल नजिक रहेका सबै बैंकका एटीएम बुथ पुगे। तर सबै एटीएम बन्द थिए। एटीएम बन्द भएपछि बिरामीका लागि फार्मेसीबाट औषधि खरिद गर्न नपाएको जोशीले बताए। ‘अस्पताल नजिक भएका सबै एटीमहरु बन्द थिए। यो बैंकहरु लापरबाही हो’ आक्रोशित भएका उनले भने।
एटीएम रहेको स्टेशन बाहिर नै ठूलो अक्षरमा ‘‘चौबिसै घण्टा सेवा उपलब्ध छ’’ भनेर लेखिएको हुन्छ। तर बिहान अबेरसम्म नखुल्ने एटीएम राति १० बजेपछि पूर्ण रुपमा बन्द हुने गरेका छन्। एटीएम कार्ड उपलब्ध गराएबापत शुल्क लिने बैंकहरुले सेवाग्राहीको अधिकार हनन् गरेको आरोप लागेको छ। धनगढीको मुख्य बजारमा मात्रै दर्जनौ एटीएम सञ्चालनमा छन्। पूर्णरुपमा दिउँसो पनि सञ्चालन हुन नसकेका एटीएमलाई रातिको समयमा सेवा दिन बैंकहरु उदासिन छन्।
तर राष्ट्रिय बाणिज्य बैंक धनगढी शाखाका प्रवन्धक हरिश चन्द्र भट्ट भने सुरक्षाका कारण रातिको समयमा एटीएम बन्द हुने गरेको बताउँछन्। ‘अरु बैंकहरुको के कारण हुन्छ थाहा भएन। हाम्रो भने सुरक्षाकै कारण बन्द हुने गरेको छ’ उनले भने। नागरिकको सुरक्षा तथा चोरी डकैतीबाट समेत सुरक्षित हुनका लागि बैंकहरुले नै नगद नबोक्न आह्वान गर्ने गर्ने गरेका छन्। ‘क्यास लेस’ अर्थात नगद नबोक्ने नारा लगाउने बैंकहरु नै आफ्नो प्रतिबद्धता पुरा गर्न असफल भएका छन्। धनगढी प्रदेशको व्यापारिक केन्द्र मात्रै नभएर स्वास्थ्य उपचारका लागि रेफरल ठाउँ पनि हो।
तर बैंकहरुले भने सुरक्षाको दृष्टिकोणले गर्दा रातिको समयमा एटीएम बन्द गर्ने गरेको बैंकर्स क्लब धनगढीका अध्यक्ष धर्म विष्टले बताए। ‘गार्ड भएपनि एटीएम बन्द हुन्छ। त्यो सुरक्षाकै कारण हो’ उनले भने, ‘केही महिना अगाडिका घटनाहरु तपाइलाई पनि थाहा होला। रातिको समयमा एटीएम तोडफोड हुने गरेका छन्।’
रातिको समयमा एटीएम सञ्चालन नगरेर सेवाग्राहीमाथि अन्याय गरेका बैंकहरुले कुनै बेला दिउँसोको समयमा पनि नगद सकिएको भन्दै एटीएम बुथ बन्द गर्ने गरेका छन्।