सुदूर नेपाललाई विश्वसँग जोड्दै

अब टिकटकबाटै सामान खरिद गर्न सकिने

२०७८ भदौ ९, ०३:१८ खबर संवाददाता

काठमाडौंः टिकटकमा अब मनोरञ्जन मात्र होइन, छिट्टै सामानहरू समेत खरिद गर्न पाइने भएको छ। यसअघि एपमा दिइने विज्ञापनको आधारमा मात्र सामान खरिद गर्न पाइने थियो। अब भने एपमै उपलब्ध ‘शपिङ’ ट्याब मार्फत सिधै सामान खरिद गर्न मिल्ने भएको छ। क्यानेडेली ईकमर्श कम्पनी शपिफाईले मंगलबार यस्तो घोषणा गरेको हो।

कम्पनीका अनुसार अब व्यावसायीहरूले टिकटकमा शपिङ ट्याब राख्न मिल्नेछ, जसमा भएको लिंकमा क्लिक गरेपछि ग्राहकले सिधै व्यावसायीको वेबसाइटमा गएर सामान खरिद गर्न मिल्नेछ। शपिफाई र टिकटकबीचको सहमतिपछि हाल परीक्षणकै क्रममा रहेको यो फिचर अमेरिका, बेलायत र क्यानडाका प्रयोगकर्ताका लागि मात्र उपलब्ध गराइएको छ।

केही महिनाभित्रै यो फिचर अन्य देशमा पनि उपलब्ध गराउने कम्पनीको योजना छ। टिकटकको अभिभावक कम्पनी बाइटडान्सले चीनमा मात्र प्रयोग हुने टिकटक “डाओयीन” मा यो सुविधा चिनियाँ बजारका लागि पहिलेदेखि नै उपलब्ध गराउँदै आएको छ।

टिकटकमा सुरुवात भएको यो सुविधा अमेरिकी सेलिब्रेटी काइली जेनरले आफ्ना सौन्दर्यसँग सम्बन्धित सामग्रीहरू बिक्री गरेर सुरुवात गरेकी छन्।

कमेन्ट लोड गर्नुस