धनगढीमा 'पचढकी' ब्राण्डको साबुन उद्योग स्थापना
धनगढीः धनगढीमा पचढकी ब्राण्डको साबुन उद्योग स्थापना भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्वर १३ राजपुरमा पचढकी सोप ईण्डष्ट्रिज प्रालि नामक उद्योग स्थापना गरिएको हो।
उद्योगले विभिन्न आकारमा वासिङ पाउडर, लुगा धुने साबुन, नेचुरल नुहाउने साबुन, दिसवास बार, ह्याण्ड वास तथा स्याम्पु गरी ७ वटा उत्पादन बजारमा ल्याएको उद्योगका सञ्चालक पदम रानाले जानकारी गराए।
शनिबार उद्योगको एक कार्यक्रमकाबीच पूर्व वन तथा वातावरणमन्त्री नारदमुनि रानाले उद्घाटन गरेका छन्। सुदूरपश्चिम प्रदेशभित्र उत्पादनमुलक उद्योग स्थापना निकै न्यून रहेको अवस्थामा आफ्नो जन्मभूमि र आफ्नो पहिचान दिने गरी उद्योगको नाम नै पचढकी राख्नु आफैमा नयाँपन भएको संघीय सांसद रानाले बताए।
प्रत्यक्ष र अप्रत्यक्ष गरी तत्काल २४ जना स्थानीयले रोजगारी पाउने गरी उद्योग स्थापना गरिएको उद्योग सञ्चालक रानाले बताए। उद्योगबाट उत्पादित वस्तु सुदूरपश्चिममा मात्र नभएर नेपालभर विस्तार गर्न आधिकारीक डिलर नियुक्तीको काम भइरहेको उनले बताए।
उद्योग उद्घाटन कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर, नेपाल चेम्बर अफ कमर्शका पदाधिकारी, बैंक वित्तीय संस्था लगायत उद्योगी व्यवसायीको सहभागिता रहेको थियो।