कैलालीको कन्द्रा नदीमा निर्माणाधिन झोलुङ्गे पुलको काम २ वर्षदेखि अधुरै
भजनीः कैलालीको कन्द्रा नदीमा निर्माणाधिन झोलुङ्गे पुलको काम अलपत्र परेको छ।
विगत दुई वर्ष अगाडीबाट निर्माण कार्य सुरु भएको झोलुङ्गे पुलको कामले अझै पुर्णता नपाएको हो। भजनी नगरपालिकाको मिलनपुर–जवरपुर र कनैयापुर–कवाखेडा जोड्ने २ वटा झोलुङ्गे पुलको काम अलपत्र परेको छ। भजनीमा पर्ने कन्द्रा नदीमा एउटा पनि पुल नहुँदा उक्त क्षेत्रका स्थानीयलाई आवात–जावातमा सास्ती छ।
सोही क्षेत्रमा निर्माण भईरहेको हुलाकी सडकको पक्की पुलको कामसमेत विगत ७ वर्षदेखि अगाडी बढ्न सकेको छैन। पुल नभएकै कारण भजनी नगरपालिकाको वडा नम्बर ५ का सबै स्थानीयसँगै आवश्यक कामले नदी वारपार गर्नेहरु डुङ्गाको जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। वर्षातको समय सुरु भइसकेका कारण नदीमा पानीको वहाव पनि बढेको छ।
समयमा पुल निर्माण नहुँदा डुङ्गाको जोखिमपूर्ण यात्रा गर्न बाध्य रहेको स्थानीय तथा झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष रतनराज रेग्मीले बताए। ‘सामान उपलब्ध गराउने कम्पनीले ढिलाई गरेको छ, अहिलेसम्म काम सम्पन्न हुनुपर्ने हो,’ उनले भने, ‘पुल समयमा बनेपछि आवातजावत गर्न सजिलो हुने आशा यस क्षेत्रका स्थानीयमा थियो तर निर्माण अवधि थप हुँदा पनि काम अधुरै रहेपछि उक्त आशा निराशामा परिणत भएको छ।’ संघीय र स्थानीय सरकारको सहयोगमा निर्माण भईरहेका २ वटा पुलको काम रोकिएको लामो समय हुँदा सरोकारवाला निकाय उदासिन देखिएका छन्।
स्थानीयले पटक–पटक आग्रह गर्दा पनि भजनी नगरपालिकाले उक्त पुल निर्माणमा चाँसो नदिएको गुनासो उनीहरुले गरेका छन्। नगरपालिका पनि निर्माण सामाग्री अर्थात् पुलको स्टील पार्ट उपलब्ध गराउने कम्पनीलाई दोष दिँदै पन्छिरहेको छ। ठेक्का पाएको स्टील कम्पनीले नै ढिलाइ गरेको भजनी नगरपालिकाका इन्जिनियर अनेष श्रेष्ठले बताए।
‘कम्पनीकै लापरवाहीका कारण समयमा काम सम्पन्न गर्न समस्या भएको हो,’ उनले भने, ‘यो महिनाको २० गते भित्र सबै सामान उपलब्ध गराउने दाबी कम्पनीले गरेको छ।’ संघीय सरकारको अनुदानमा पाईने निर्माण सामाग्री प्राप्त भईसकेको उपभोक्ता समितिले जनाएको छ।
स्थानीयले गर्ने श्रमदान पनि समयमै सकिएको दाबी गरिन्छ। तर स्थानीय तहको ४२ लाख बजेटमा उपलब्ध गराउनुपर्ने स्टील पार्ट लगायत अन्य सामग्रीको जिम्मा लिएको नेपालगञ्जको रिजवान ईन्जिनियरिङ उद्योगले निषेधाज्ञाको बहाना बनाएर ढिलाइ गरिरहेको छ।
केही सामान पठाईसकेको र बाँकी सामान यो महिनाभित्रै पु¥याउने दाबी उद्योगका सञ्चालक सिरोध खानको छ। ‘लकडाउनको कारणले हामीलाई सामान दिन समस्या भएको हो,’ उनले भने, कमजोरी त हाम्रो पनि छ तर यो महिनाभित्रै सबै सामान दिन्छौं।’