सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘सुदूरपश्चिमले मुख्यमन्त्री बन्ने, सरकार बदल्ने र मन्त्री बन्ने मात्र गति समातेको छ’

२०८१ माघ ८, ११:०६ कमल सावद

धनगढी : सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री बन्ने, सरकार बदल्ने र मन्त्री बन्ने गति मात्र रहेको भन्दै व्यङ्ग्य गरिएको छ। पाँच वर्षे कार्यकाल पूरा मुख्यमन्त्री रहेका त्रिलोचन भट्टले वर्तमान प्रदेश सरकारको आलोचना गरेका हुन।

प्रदेश सभाको आठौँ स्थापना दिवसको कार्यक्रममा सम्बोधन गर्दै पूर्व मुख्यमन्त्री भट्टले सुदूरपश्चिमले मुख्यमन्त्री बन्ने, सरकार बदल्ने र मन्त्री बन्ने मात्र गति लिएको बताएका हुन्। उनले भने, ‘मुख्यमन्त्री बन्ने, सरकार बदल्ने र मन्त्री बन्ने मात्रै गति समातेको छ। अरू कुनै पनि गति समातेको छैन। यस्मा केन्द्रको नेतृत्वले पनि सोच्नु जरुरी छ। प्रदेशको नेतृत्वले पनि सोच्नु जरुरी छ।’

सुदूरपश्चिम प्रदेश सभाको दोस्रो कार्यकालमा चौथो पटक प्रदेश सरकार परिवर्तन भएको भन्दै पूर्व मुख्यमन्त्री भट्टले असन्तुष्टि देखाएका हुन। उनले नेताहरूको चाकरी गरेर मात्र प्रदेशमा मन्त्री बन्न पाउने अवस्था रहेको समेत बताए। उनले भने, ‘एउटा सांसद, एउटा नेतालाई समातेर मन्त्री बन्नु पर्ने बाध्ययता किन बनेको छ ? कुनै पनि पार्टीमा संस्थागत रूपमा मन्त्री बन्ने र सरकार बन्ने कुरा किन भइरहेको छैन ? ठुला पार्टीमाथि प्रश्न उठेको छ। गो गम्भीर छ। यो विषयमा बहस हुने जरुरी छ।’ हाल प्रदेश सभाको एउटै कार्यकालमा काँग्रेस संसदीय दलका नेता कमलबहादुर शाह दोस्रो पटक मुख्यमन्त्री छन्। सुदूरपश्चिममा काँग्रेस, एमाले र नागरिक उन्मुक्तिबिच सत्ता साझेदारी छ।

काँग्रेसबाट आर्थिक मामिला मन्त्रीमा बहादुरसिंह थापा, सामाजिक विकासमन्त्रीमा मेघराज खड्का, आर्थिक मामिला राज्यमन्त्रीमा प्रकाशबहादुर बम र सामाजिक विकास राज्यमन्त्रीमा सरस्वती खड्का छन्। एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्रीमा सुरेन्द्रबहादुर पाल, भूमि व्यवस्था कृषि तथा सहकारीमा वीरबहादुर थापा र आन्तरिक मामिला तथा कानुनमन्त्रीमा हीरा सार्की छन। निर्मला साउँद भौतिक पूर्वाधार विकास राज्यमन्त्री छन्। नागरिक उन्मुक्तिका लक्ष्मणकिशोर चौधरी उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री छन्। एकीकृत समाजवादीबाट मुख्यमन्त्री रहेका दीर्घबहादुर सोडारीले पदबाट राजीनामा दिएपछि दोस्रो पटक शाह मुख्यमन्त्री बनेका थिए।

प्रदेश सभाको दोस्रो कार्यकालमा २०७९ पुस २७ मा एमाले, माओवादी, नागरिक उन्मुक्ति र राप्रपाको गठबन्धनमा एमाले नेता राजेन्द्रसिंह रावलको नेतृत्वमा पहिलो सरकार गठन भएको थियो। नागरिक उन्मुक्तिले विश्वासको मत नदिएपछि रावलको नेतृत्वको सरकार विश्वासको मत प्राप्त गर्न नसकी एक महिनामै ढलेको थियो।

प्रदेश सभाको ठूलो दलको हैसियतले २०७९ माघ २६ मा काँग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्री नियुक्त भएका थिए। केन्द्रमा एमाले र माओवादीसहितको नयाँ गठबन्धन बनेपछि २०८० चैत २२ मा शाहले पदबाट राजीनामा दिए। त्यसपछि एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घबहादुर सोडारी एमाले र माओवादीको समर्थनमा मुख्यमन्त्री बने। केन्द्रमा काँग्रेस–एमालेको नयाँ सत्ता समीकरण बनेपछि अल्पमतमा परेका सोडारीले पनि राजीनामा दिए । फेरि प्रदेशमा चौथो सरकारको नेतृत्वमा काँग्रेसकै शाहको पुनरागमन भएको हो।

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस