सुदूर नेपाललाई विश्वसँग जोड्दै

यसरी भएको थियो दिनेश सञ्चार गृहमा गुण्डागर्दी शैलीमा सांघातिक हमला

२०७७ भदौ २८, १२:५५ विन्दु चन्द

धनगढी : दिनेश सञ्चार गृहमा दैनिक बिहान १० बजे समाचार कक्षका पत्रकारको बैठक हुन्छ। बैठकमा अघिल्लो दिनको कार्य प्रगतीको समिक्षा, कमजोरी, सुधार गर्नुपर्ने पक्षका विषयमा छलफल हुन्छ। बैठकमा सो दिन उठान गर्नुपर्ने एजेण्डाका सन्दर्भमा पनि छलफल गरिन्छ। त्यसैले समाचार कक्षमा कार्यरत हामी सबै कर्मचारी ठीक १० बजे कार्यालयमा आइपुग्छौ। दुई जनाको ड्युटी भने विहान ५ बजेदेखि नै हुन्छ।

शुक्रबार भने साढे १० बज्दा पनि सम्पादक नवराज पनेरु सर र सहायक सम्पादक जनक विष्ट सर कार्यालय पुगेका थिएनन्। सहायक सम्पादक जनक विष्ट सर शारीरिक अस्वस्थताका कारण चेकजाँचका लागि अस्पताल जानुभएको थियो। सम्पादक पनेरु सर भने कोरोना संक्रमितको सम्पर्कमा गएका कारण केहि दिनदेखि घरबाटै काम गरिरहनुभएको थियो। कार्यालयमा म, रोशन भट्ट, कमल सावद र आशिष मल्ल थियौँ।

सोही समयमा समाचार कक्षमा जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षभित्रै एकजना अभियुक्तले आत्महत्या गरे भन्ने जानकारी आयो। केही अनलाईनमा सो समाचार प्रकाशन भईसकेको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टलाई सम्पर्क गर्दा उनले २२ गते चोरी मुद्धामा पक्राउ गरेका धनगढीका १९ बर्षीय रोशन विकले आत्महत्या गरेको बताए।

उनकै जानकारीको आधारमा दिनेश खवरमा पनि समाचार सम्प्रेषण भयो। त्यसपछि हामी आ–आफ्नो काममा लाग्यौँ। आशिष मल्ल सरको दिउँसो १ बजेदेखि अनलाईन डिउटी हुने भएका कारण खाना खान बैठक सकेर घर जानुभयो। कमल सर पनि रिपोर्टिङमा निस्किनुभयो। समाचार कक्षमा रोशन सर र म मात्रै रह्यौँ। बिहानदेखि अनलाई डिउटी भएकाले खाजा खान म पनि करिब पौने १२ बजे कोठातिर लागे।

म खाजा खाएर कार्यालय फर्किदा जनक सर पनि आइसक्नुभएको थियो। कार्यालय पुगेर आफ्नो डेस्कमा बस्नैलाग्दा ४/५ जना व्यक्तिको समुह दिनेश सञ्चार गृह भित्र प्रवेश गर्यो। ती मध्येका एक जनाले समाचार कक्षको ढोका नजिक आएर सोधे– ‘दिनेश खबर भनेको यही हो?’ मैले नै हो भनेर जवाफ दिदै के काम थियो? भनेर सोधे।

उनले आक्रोशित हुँदै भने, ‘दिनेश खबरमा समाचार पनि यतैबाट पोष्ट हुन्छ नी?’ हामीले हुन्छ भनेर जवाफ दिदै ती व्यक्तिहरुलाई बस्न आग्रह गर्यौ। समाचार कक्षमा प्रवेश गरेका उनीहरुले बस्नुस भन्दै गरिएको आग्रहको वेवास्ता गरे। फेरी आक्रोशित हुँदै त्यो आत्महत्या सम्बन्धीको समाचार लेख्ने को हो ? भनेर सोध्न थाले। सहायक सम्पादक जनक सरले नै उहाँहरुलाई हामीहरुले नै समाचार हालेका हौ। के भयो ? कुनै गुनासा, आपत्ती भए बसेरै कुरा गरौँ भन्नुभयो।

तर उनीहरु हाम्रो कुरा सुन्ने पक्षमा थिएनन्। आक्रोशित युवकले (मृतकका दाजु) आदेश दिएझै गरी समाचार लेख्ने व्यक्तिलाई तुरुन्त बोलाउनुस्, भन्दै थिए। तर जनक सरले उहाँहरुलाई तपाईहरुले समाचार पढ्नुभयो की भएन भनेर सोध्दा ‘छैन्’ भन्ने जवाफ फर्काए। त्यसो भए पहिले समाचार पढ्नुस आउनुस भनेर आफ्नो डेस्कमै बोलाए।

उनीहरुले समाचार पढेपछि प्रहरीले आत्महत्या गरेको भनेपछि लेखिएको कुरा बुझे र समान्य भएर कुराकानी गर्न थाले। जब ती युवकले समाचारमा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टका अनुसार लेखिएको देखे। त्यसपछि शान्त हुँदै जनक सरलाई भन्दै थिए, ‘दाई अब यो डिलिट गर्न मिल्दैन् उसो भए?’ सर डिलिट गर्न नमिल्ने तर तपाईहरुका कुरा राखेर अर्को समाचार लेख्न सकिने बताएपछि उनीहरु तयार भए।

त्यति बेला एउटा कुरा प्रष्ट भईसकेको थियो की, उनीहरुले समाचार पढेका थिएनन्। कसैले उक्साएको भरमा दिनेश सञ्चार गृहमा पुगेका थिए। तपाइहरुको भनाई राख्छौँ, फोटोहरु छ भने दिनुस् भनेर भन्दा ती युवकले हुन्छ भने। तर त्यती नै बेला उनको मोबाइलमा फोन आएपछि कुरा गर्न उनी बाहिर गए। रोशन सर उनको भनाई कैद गर्न क्यामेरा तयार गरी बस्नुभएको थियो। तर ती युवक रुँदै फोनमा कुरा गरिरहेका थिए।

एकछिन पछि १५/२० जनाको समूह कार्यालयमा आयो। हरियो टि–सर्ट लगाएका युवक ढोका नजिक आएर कराउन थाले। किन पोष्ट गरेको भन्दै गालीगलौज गर्न थाले। त्यसपछि जनक सर उठेर उनीहरुलाई सम्झाउन गए। ‘तपाईहरुको कुरा छ भने हामी त्यो पनि हालिदिन्छौ। सूचना प्रहरीले दिएको हो बसेर कुरा गरौँ’ भन्दै सम्झाउन थाले। तर आक्रोशित युवाहरु हाम्रो कुरा सुन्ने पक्षमा थिएनन् उनीहरु सबै जना बोल्न थाले।

बाहिर ‘रिसेप्सन’मा बोलाबोल भइरहेको थियो। फेरी अर्को १२/१५ जनाको समूह आयो। ती मध्ये कालो सेतो बुट्टा भरिएको सर्ट, हरियो क्याप, र दारी भएको मान्छे आएर, आउँदाआउँदै जनक सरको काँमा हात राखेर गर्जिन थाले। अन्य युवाहरुले जनक सरलाई धकेलेर सोफामा लडाए। हल्ला खल्ला भएको सुनेरस्टेशन म्यानेजर अमिता कुँवर म्याम पनि आईपुग्नुभयो।

                                  सुरुमा जनक विष्ट माथी हातपात गर्ने  व्यक्ति 

‘के भयो? एक/एक जना पालैपालो बोल्नुस तपाईहरुको समस्या के हो ? हाम्रो गल्ती भए सच्याउँछौं’ भन्दा भीडबाटै एकजनाले तपाई को हो? भनेर गर्जिए। म्यामले आफु स्टेसन म्यानेजर भएको परिचय दिनुभयो। फेरी एकैपटक ती दुई/तीन जनाले स्टेसन म्यानेजर होस आफ्नो ठाउँमा। कस्तो हुन्छ पत्रकारिता थाहा छैन, भन्दै ठुलो स्वरमा बोल्न थाले। म्यामले समाचारको विषयमा कुरा गर्नुस भन्दा गाली गलौज गर्न थाले।

                                                    कुटपिट गर्ने अर्का व्यक्ति 

केही सयम बाहिरै विवाद भयो। आँगनमा उतिक्कै भिडभाड थियो। फेरी ती मध्ये केहि समाचार हेर्न भनेर समाचार कक्षभित्र प्रवेश गरे। तर समाचार कक्षमा प्रवेश गरेका उनीहरुले समाचार हेर्दै नहेरी आत्महत्याको समाचार डिलिट गर भन्दै ढोकैबाट जनक सरमाथि हमला गरे। उनीहरुले विष्ट सरलाई कुटपिट गर्दै थिए। त्यती नै बेला म्याम र प्राविधिक कल्पना सिंह छुट्याउन जादा उनीहरुमाथि पनि हातपात भयो।

कुटपिट गर्ने मध्येका एकजना युवकले त फेसबु्क लाइभ नै गरिरहेका रहेछन्। प्रहरीलाई उदृत गर्दै देखिएको समाचारमा आपत्ति जनाउनुपर्ने कुनै कुरा लेखिएको थिएन। सुरुमा आएका मृतकका दाजु र उनीसँगै आएका आफन्त भने समाचार पढेपछि शान्त भईसकेका थिए। उनीहरु आफ्नो कुरा राख्ने पक्षमा थिए। तर पछि आएको समूह भने सञ्चार गृहका पत्रकारमाथि कुटपिट गर्ने मनसायबाटै प्रेरित भएर आएका देखिन्छ।

                            मोवाईलमा भिडियो रेकर्ड  गर्दै कुटपिट गर्ने व्यक्ति 

उनीहरु मध्ये कसैले पनि समाचार पढेका थिएनन्। मात्र समाचार डिलिट गर भन्ने जोडबल थियो। उनीहरु कसैको उक्साहटमा गुण्डागर्दी शैलीमा आएका थिए। युवाहरुको जथ्था कार्यालयमा प्रवेश गर्ने बितिकै कुनै घटना घटाउन सक्ने कुरालाई ध्यानमा राखेर हामीले प्रहरीलाई तत्कालै खबर गरेका थियौँ। तर प्रहरी पुग्दा उनीहरु कुटपिट गरेर भागीसकेका थिए।

के थियो समाचार?

दिनेश खबरले शुक्रबार १० बजेर १७ मिनेटमा धनगढीमा थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले गरे आत्महत्या भन्ने समाचार प्रकाशित गरेको थियो। दुई अनुच्छेदको समाचारमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक प्रतिक विष्टले दिएको जानकारी लेखिएको थियो। ती युवकले शौचालयमा झुण्डिएर आत्महत्या गरेका थिए, घटनाको अनुसन्धान भइरहेको छ भनेर समाचारमा उल्लेख गरिएको थियो।

उक्त समाचार कैलाली सहितका संघिय राजधानीका मिडियाबाट पनि प्रकाशन र प्रशारण भएको थियो। प्रायजसो धेरै मिडियामा प्रहरीको भनाईको आधारमा आत्महत्या गरेको भन्दै समाचार थियो। तर दिनेश सञ्चार गृहलाई मात्र निसाना बनाईयो जुन नियोजित थियो। घटनापछि हामीले शुक्रबार साँझ नै दोषीलाई कारवाहीको माग गर्दै प्रहरीमा किटानी जाहेरी दिएका थियौं। तर प्रहरीले अहिले सम्म कसैलाई पक्राउ गरेको छैन्।

घटनापछि सामाजिक सञ्जाल मार्फत निरन्तर धम्की

घटनापछि दिनेश खबरमा प्रकाशित समाचार र भिडियोमा विभिन्न प्रयोगकर्ताले ‘छप्काउनु पथ्र्यो, अझै कुट्नुपथ्र्यो’ लगायतका कमेन्ट गरिरहेका छन्। कतिपयले स्टाटस नै लेखेका छन्। अधिकांश फेक आइडी छन्। लाग्छ की धम्काउनकै लागि ती आइडी खोलिएका हुन।

पत्रकारले २४ सैं घण्टा रिर्पोटिङमा खटिनुपर्छ। स्थलगत रिपोर्टिङ गर्दा एक्लै हिड्नुपर्ने हुन्छ। यसरी सार्वजनिक रुपमा कार्यालयमै आएर हातपात गर्दा त प्रहरीले कुनै कारवाही अगाडि बढाएको छैन भने एक्लै भएको बेला हमला भए त्यसको जिम्मेवारी कसले लिन्छ ? हामीले सुरक्षाको अनुभुती कसरी गर्ने ? पत्रकारमाथि यस्तो आक्रमण भएको घटना पहिलो पटक भने होइन्।

यस्ता घटना धेरै भईसकेका छन्। हामी दिनरात, भोक प्यास नभनी काम गरिरहेका हुन्छौ। कोरोनाको संकटका बेला समेत बिदा नबसी आम जनतालाई सुसुचित गरिरहेका छौँ। तर यसरी नै हामीमाथि आक्रमण, कुटपिट भईरहने हो भने हामीले कसरी काम गर्ने?

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस