सुदूर नेपाललाई विश्वसँग जोड्दै

'दर्दनाक अवस्था झेलेर स्वदेश फर्कियौँ, गाउँ पुग्दा खुसी छौँ'

२०७७ जेठ ६, ०६:३४ विन्दु चन्द

धनगढी : विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस(कोभिड –१९) नियन्त्रण गर्न जारी भएको लकडाउनको आज ५७औं दिन। यो समय अवधीमा स्वदेश तथा विदेशमा लाखौँ नेपालीहरु अलपत्र परे र परिरहेका छन्। यहि समस्यामा बैतडीको मेलौली नगरपालिका वडा नम्बर –२ सलेनाका सुवास चन्द पनि भातमा रोकिए। 

माघ २ गते रोजगारीको शिलशिलामा भारत हानिएका उनी अम्रुहुवास्थित एक कम्पनीमा काम गर्न थाले। काम ठिकठाक चलिरहेको थियो तर कोरोनाका कारण भारतमा  जारी भएको लकडाउनका कारण उनको दैनिकी कष्टकर बन्न पुग्यो।  लकडाउनका कारण लाखौँ नेपालीहरुसंगै उनको पनि रोजगारी गुमिसकेको थियो। 

‘म संग मेरा दुई जना भाई थिए। कोरोनाका कारण सीमानाका बन्द भएपछि हामीहरु कोठामै बस्यौं’ उनले भने ‘केहि दिनसम्म त कम्पनीले खानबस्न दियो तर लकडाउन लम्बिँदै गएपछि कम्पनीले हामी अब बेहोर्न सक्दैनौ भन्यो।’ त्यो समय निकै दर्दनाक भएको उनले स्मरण गरे। ‘हामीले कस्तो दर्दनाक अवस्था सह्यौँ, आफुसंगै काम गर्ने सुदूरपश्चिमका अन्य २५/३० जना पनि थिए’ उनी भन्छन ‘तर सामाजिक सञ्जाल तथा  समाचारमा खान नपाएर सडका सुतिरहेका थुप्रै नेपालीहरुको दर्दनाक अवस्था देख्दा उनीहरुभन्दा हामी ठिकै अवस्थामा छौँ भनेर चित्त बुझाइन्थ्यो’

नेपालमै रहेका मजदुरको अवस्थाबारे सुन्दा दुःखी बनेको उनले सुनाए। ‘स्वदेशमै एक जिल्लाबाट अर्को जिल्लामा मजदुरी गर्न गएकाहरु पनि अलपत्र परेको, ७÷८ दिन हिँडेर घर फर्किरहेको समाचार सुन्दा, भिडियोहरु हेर्दा धेरै दु:ख लाग्थ्यो। आफ्नै देशमा त यस्तो अवस्था छ झन हामी त अर्काको देशमा छौँ, हाम्रो के हुन्छ भनेर चिन्ता लाग्थ्यो’ उनले भने। 

लकडाउन लम्बिँदै गएपछि आफुसहित कम्पनीमा कार्यरत सुदूरपश्चिमका २७ जनासँग भएको पैसा सकिँदा झनै समस्या भएको उनले बताए। ‘कम्पनिले खाना बन्द गरेपछि अलिअलि पैँसा त दिएको थियो तर त्यो कतिदिन पुग्थ्यो। सबैसँग भएको पैसा सक्कियो।  हामी सबैलाई एउटै कोठामा राखिएको थियो। खाँचिएर बसेका थियो। न त बत्ति थियो न त अलग्गै सुत्न लगाउने कपडा’ उनले भने। त्यो कोठामा झुल समेत नभएकाले ती सबै रातभर जागाराम भएर बस्नुपर्ने अवस्था थियो। एकातिर घर पुग्ने तनाव अर्कोतिर रगत चुस्ने लामखुट्टे, अनि कसरी निन्द्रा लाग्दो हो। बिहान ४ बजे सुतेर विबहानै ७ बजे उठ्ने गरेका उनीहरुलाई कोरोना र अन्य रोगको चिन्ता बड्न थालिसकेको थियो।

धैर्यताको बाध टुुटिसकेको थियो। अब हिँडेरै त्यहाँबाट नेपाल जाने योजना बनाएर ती सबै २७ जना गत बैशाख ४ गते अम्रुहुवाबाट सीमा नाकातिर लम्किए। लगातार पैदलै हिँडेर उनीहरु ९० किलोमीटर टाढा रामपुर भन्ने स्थानमा पुगे। भारतीय प्रहरीको त्रासका कारण फरकफरक समुहमा बाडिँएर उनीहरु विहान ७ बजे रामपुर पुगेका थिए। ‘तर रामपुरमा प्रहरीले सोधपुछ गर्दै रोक्यो। उनीहरुसँग कुरा गरेपछि खान र सिमासम्म छोड्ने व्यवस्था गरिदिन्छु भन्ने प्रतिबद्धता आयो। र हामी त्यही आशमा त्यो पारिलो घाममा सडकमै बस्यौं’ सुवास चन्दले भने।

प्रहरीको आश मानेका उनीहरु त्यो दिनभर घाममा सुके। बिस्तारै रात पर्यो आशाको बेग अझ बढ्न लागिसकेको थियो। राति करिब १२ बजेतिर सबैलाई सीमामा लग्ने भनेर एउटा ट्रक आयो। सबैलाई ट्रकमा बस्न भनियो। तर नेपाल पुगिने भनेर खुसी हुँदै ट्रकमा चढेका उनीहरुको सपना चकनाचुर बन्न पुग्यो। उनीहरुलाई झुक्काएर फिर्ता गरिएको रहेछ। 

‘पुगियो झर्नुस भनेपछि खुसी हुँदै झ्रयौ तर उही ठाउँ पुगाइएको रहेछ। कस्तो अचम्म !  अब के गर्ने झन आपत आयो। कसैसँग न पैसा, न कोठामा राशन के गर्ने के नगर्ने’ सुुवास चन्दले सुनाए। पुरानै ठाउँमा पुगेकाले आफ्ना माथिल्लो दर्जाका सहकर्मीसँग सहयोग मागेको र तर उनीहरुले उल्टै हप्काएको चन्दले बताए। ‘केही साथीले त कुटाइ समेत खाए’ उनले भने। जसोतसो ती सबैले अम्रुहुवामा दिनहरु काटिरहेका थिए। अब त उनीहरुमा नेपाल फर्कने आशा पनि मरिसकेको थियो। ‘कहिले एक छाक कहिले तेस्रो दिन छिमेकीहरुले सहयोग गर्थे’ चन्दले भने। 

तर मन न हो कहाँ शान्त बस्न सक्छ। त्यसरी पीडा सहेर बस्नुभन्दा बरु जे होला देखिएला भन्दै उनीहरु पुःन बैशाख १८ गते नेपालतर्फ हिँडे। बैशाख १९ गते पलिया पुगेका उनीहरुलाई त्यहीको क्वारेन्टाइनमा राखियो। तर त्यहाँ पहिलेदेखि नै आफुजस्तै सय बढी नेपालीहरुले दर्दनाक अवस्था झेलिरहेको सुवासले देखे। तर मनलाई अझ अटल बनाएर उनीसहित सबै त्यहाँको दुःख काट्न तयार भए। 

१५ दिन उक्त क्वारेन्टाइनमा बसेर गत शुक्रबार(जेठ २ गते) मात्रै उनीहरुलाई नेपाल प्रवेश गराइयो। ‘नेपाल प्रवेश भएपछि ठुलो समस्याबाट उम्किए जस्तै भयो, जेलबाट छुटे जस्तो भयो खुसिको सिमा नै रहेन’ दिनेश खबरसँग शुवासले भने।

अहिले उनी बैतडीको मेलौली नगरपालिका वडा नम्बर २  स्थित धर्मघर विद्यालयको क्वारेन्टाइनमा छन्। ‘दर्दनाक अवस्था सहेर जसोतसो पुगिसक्यौँ, घरपनि नजिकै छ, समय समयमा घरपरिवार पनि भेट्न आइरहन्छन्। क्वारेन्टाइन व्यवस्थापन पनि राम्रो छ’ हर्षित भएर उनले भने। साथै उनले नेपाल सरकारलाई धन्यावाद दिँदै भारत तथा विभिन्न मुलुकमा अलपत्र परेका नेपालीहरुलाई भित्राउन तिनै तहका सरकारसँग आग्रह गरेकाछन्। 

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस