सुदूरपश्चिममा कोरोना जितेका तीन जनाको पुनः परीक्षण भएन, जोखिम बढ्यो
धनगढी : सुदूरपश्चिममा अस्पतालबाट डिस्चार्ज भएका कोरोना संक्रमितको पुनः परीक्षण नहुँदा जोखिम बढेको छ। अन्य प्रदेशमा निको भएर अस्पतालबाट डिस्चार्ज भएका संक्रमितको पुनः परीक्षण गर्दा तीन जनामा फेरी कोरोना संक्रमण पुष्टि भएको बेला सुदूरपश्चिममा भने निको भएर घर फर्किएका बिरामीको पुनः परीक्षण नभएको हो।
सुदूरपश्चिमको कोरोना विशेष सेती प्रादेशिक अस्पतालबाट धनगढीका ३४ वर्षीय युवक, लम्कीका २१ वर्षीय युवक र ६१ वर्षीय महिलासंगै कञ्चनपुरका ४१ वर्षीय पुरुष डिस्चार्ज भएका छन्। उनीहरु अस्पतालबाट डिस्चार्ज भएको १४ देखि १८ दिन भईसकेको छ। संक्रमितहरुको लगातार दुई पटक कोरोना रिर्पोट नेगेटिभ आएपछि एक हप्ता सम्म होम क्वारेन्टाईनमा वस्नुपर्ने र ७ देखि १० दिनको विचमा पुनः परीक्षण गर्नुपर्ने मापदण्ड भएपनि सुदूरपश्चिममा पुन: परीक्षणका लागि वेवास्ता गरिएको हो।
धनगढीका ३४ वर्षीय युवक पुनः परीक्षणको लागि अस्पताल पुगेपनि रिर्पोट नेगेटिभ आएको छ भने अन्य तीन जनाको परीक्षण भएको छैन्। कोरोना जितेर घर फर्किएकी लम्कीकी महिलाले डिस्चार्ज भएपछि परीक्षण नभएको बताईन्। ‘घर फर्किएपछि अवस्था बुझ्न कोही पनि आउनुभएकोे छैन्।’ उनले भनिन्।
कोरोना संक्रमित डिस्चार्ज भएर घर फर्किएसंगै एक सात होम क्वारेन्टाईनमा वसेपनि अहिले भने पूरानै दैनिकीमा फर्किएका छन्। नेपालकै अन्य प्रदेशहरुमा कोरोना जितेर घर फर्किएहरुमा पुनः संक्रमण भएका बेला सुदूरपश्चिममा परीक्षण नहुँदा जोखिम उत्तिकै छ। विना लक्षण कोभिड–१९ पुष्टि हुन थालेपछि झनै त्रास बढेको छ। तर उनीहरुमा कुनै लक्षण नदेखिएका कारण पुनः परीक्षण नगरिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय अन्तरगतको कञ्चनपुर कोभिड–१९ का सम्पर्क व्यक्ति सिद्धराज भट्टले बताए।
‘अहिले उनीहरुमा लक्षण नदेखिएका कारण पुनः परीक्षण गरिएको छैन्’, उनले भने। अन्य प्रदेशमा कोरोना संक्रमण निको भइसकेहरुमा फेरी संक्रमण भेटिएपछि सुदूरपश्चिममा पनि डिस्चार्ज भएका चार जना संक्रमितहरुको कोरोना परीक्षणका लागि फेरी थ्रोट स्वाब संकलन गर्नुपर्ने हो।
सुदूरपश्चिममा भने अस्पतालबाट डिस्चार्ज भएर गईसकेकाहरुको पुनः परीक्षण गर्न वेवास्ता गरिएको छ। धनगढीका ३४ वर्षीय संक्रमित युवक बाहेक अन्य तीन जनाको घर फर्किएपछि परीक्षण नभएको सेती प्रादेशिक अस्पतालका कोभिड–१९ उपचार विभाग प्रमुख डा. शेरबहादुर कमरले बताए।
‘बाँकी तीन जनाको पनि पुनः परीक्षण गर्ने तयारी भईरहेको छ।’ उनले भने। डिस्चार्ज भएका चारै जना संक्रमितहरु सुरुको एक साता होम क्वारेन्टाईनमा बसेको दावी गरिएको छ। अहिले स्वास्थ्य अवस्था पनि समान्य रहेको उनीहरुले बताएका छन्।