कैलालीमा मूल्य घट्ने भन्दै पम्पहरुले पेट्रोल नउठाउँदा बजारमा कृत्रिम अभाव
धनगढी : धनगढी उप–महानगरपालिका वडा नम्बर ५ जाईका चन्द्रदेव जोशी बुधवार खाद्यान्नको गाडी मार्फत डोटीको जोरायलमा बस्दै आएका फुपाजुलाई सुगरको औषधी पठाउन मोटरसाईकलमा बजार निस्के। धनगढीकै एक मेडिकलबाट उनले औषधी किनेर जोरायल जाने गाडीका चालकलाई बुझाए।
उनले औषधी छोडेर फर्किन भन्दै गाडी रहेको स्थान सहिद गेट पुग्नुपर्ने थियो। तर बीच बाटोमै मोटरसाईकलको पेट्रोल सकिएपछि जोशी समस्यामा परे। हिडेरै सहिद गेट पुगेर औषधी पठाएपछि जोशी पेट्रोलको खोजीमा लागे। ‘नजिकै रहेको डिके पेट्रोल पम्पमा बन्द थियो’, जोशीले भने, ‘त्यहाँबाट फेरी हिडेरै धनगढी मुख्य बजारमा रहेको मल्ल आयल स्टोरमा पुगे।’
यी दुई पेट्रोल पम्प लगायत अन्य पम्पहरु समेत बन्द भएपछि मोटरसाईकलाई डोर्याएरै घर फर्किनुपरेको उनले सुनाए। धनगढीका विभिन्न स्थानमा रहेका पम्पहरु पेट्रोल भएपनि बन्द हुने गरेका छन्। उता पुर्वपश्चिम राजमार्ग अन्तरगत पर्ने विभिन्न पम्पहरुमा यस्तै समस्या देखिएको छ। लम्कीका पत्रकार रमित पाण्डेय पनि विगत एक सातादेखि पेट्रोलकै खोजीमा छन्।
राजमार्ग अन्तरगत पर्ने विभिन्न पम्पहरुमा पर्याप्त पेट्रोल भएपनि ग्राहकलाई दिन नमान्ने गरेको आरोप उनको छ। ‘पेट्रोल भएपनि लकडाउनको उल्ङ्घन हुने भन्दै व्यापारीहरुले दिन मान्दैनन्’, उनले भने, ‘हामी पत्रकारहरुलाई झनै समस्या छ, रिर्पोटिङको लागि विभिन्न स्थानमा पुग्नु पर्छ तर पेट्रोल नपाएर घरमै वस्नुपर्ने बाध्यता छ।’
पम्पका नजिकका व्यपारी तथा अन्य केहीलाई ग्यालेनमा भरेर दिने गरेको भनाई उनको छ। ‘व्यापारी तथा चिनेका व्यक्तिहरुलाई सहजै पेट्रोल दिने गरेको भएपनि आम नागरिक तथा स्वास्थयकर्मी, संञ्चारकर्मी लगायतहरुलाई उपलब्ध नहुने समस्या छ’, उनले भने।
जिल्लामा पेट्रोलियम पदार्थ आपुर्ती गर्दै आएको डिलर्स एसोसिएसनले भने अंग्रेजी महिनाको १ र १५ गते नयाँ दररेट आउने भएकाले अधिकासं पम्पहरुले मौज्दात नराखेको जनाएको छ। ‘विक्रि नहुने हुँदा धेरैले नउठाएको होला आयल निगममा पेट्रोल जतिपनी छ’ एसोसिएसनका अध्यक्ष चक्र मल्लले भने, ‘यसअघी पेट्रोलियमा पर्दाथको मूल्य १० रुपैयाँले घटेपनि पुरानो मौज्दात राखेकाहरुलाई घाटा लागेका कारण अहिले मौज्दात नराखेका होलान।’
विषेश गरी यो समयमा विक्रि नै नहुने गरेका कारण मौज्दात पनि कम राख्ने र अधिकासं समयमा केही पम्पहरु बन्द हुने गरेको उनले बताए। महत्वपुर्ण कामले घर वाहिर निस्कनुपर्ने भएपछि पेट्रोल नपाउने समस्या आम सर्वसाधारणले झेल्नु परेको छ।
मुल्य घट्ने भन्दै अधिकासं पम्पहरु भएकै पेट्रोलियम पदार्थ समेत विक्रि गर्न बन्द गरिरहेका छन् भने कृत्रिम अभाव सिर्जना गर्दै अन्य व्यपारीहरुलाई बढी मुल्यमा बिक्रि गरिरहेको आरोप लागेको छ। यता नेपाल आयल निगमको सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले भने पेट्रोलिय पदार्थको मौज्दात अहिलेलाई पर्याप्त रहेको जनाएको छ।
तर व्यापारीहरुको माग नै निकै कम आउँने गरेको नेपाल आयल निगम सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका प्रमुख शर्पराज शर्माले बताए। ‘३५ ट्याङ्कर डिजेल र दुई ट्याङ्कर पेट्रोल लोड छ।’, उनले भने, ‘बाँकी आयल निगमको डिपो पनि फुल छ।’ तर व्यापारीहरूसंग भने आग्रह गर्दा पनि माग नै नआउने गरेको उनले बताए।