भारतीय तरकारीको निर्वाध आयातले सुदूरपश्चिममा कोरोनाको जोखिम बढ्दो
धनगढी : कैलालीको गौरीफन्टा नाका भएर तरकारीको आयात नरोकिएपछि सुदूरपश्चिममा कोरोना भाईरसको जोखिम झनै बढेको छ। भारतमा दैनिक जसो कोरोना संक्रमितहरुको संख्या बढ्दै गएका वेला गौरीफन्टा नाका भएर तरकारीजन्य वस्तु निर्वाध रुपमा नेपाल भित्रिन थालेपछि चालक र सह–चालकबाट कोरोनाको संक्रमण फैलिने खतरा कायमै रहेको हो।
स्थानीय उत्पादन बजार सम्म पुगाउन नसकेर खेर गईरहेका बेला लकडाउनमा दैनिक रुपमा भारतबाट भईरहेको तरकारीको आयातले जोखिम काममै रहेको हो। यो सिजनमा कैलाली र कञ्चनपुर सहित सुदूर पहाडका जिल्लाहरुमा समेत तरकारी प्रशस्त उत्पादन हुने गरेका कारण भारतिय तरकारीको आयात रोक्नुपर्ने माग गरिएको छ।
आयात रोकेमा अहिलेको समयमा दुईवटा फाईदा हुने देखिएको छ। कैलालीका तरकारी किसान नन्दलाल भट्टले भट्टले भारतिय तरकारीको आयात रोक्ने बितिकै कोरोनाको जोखिमबाट बच्न र स्थानीय उत्पादनले बजार पाउने बताए। ‘भारतबाट आयात हुने सामानहरु पूर्ण रुपमा बन्द गर्नुपर्छ’, उनले भने, ‘आलु नै खानुपर्छ भन्ने छैन् अन्य तरकारी हामी संग पनि धेरै छ।’
स्थानीय उत्पादनले बजार पाए यस क्षेत्रका किसानहरुलाई पनि फाईदा हुने उनले बताए। भारतबाट नेपाल भित्रिने मालवहाक गाडीमा चालक, सहचालक तथा सहयोगीहरु भन्सारमा गाडी जाँच गर्ने क्रममा खाजा, खाना खानको लागि विभन्न पसल तथा होटलहरुमा जाने गरेका छन्। यो संगै गौरीफन्टाबाट भित्रिने गाडीहरु सुदूर पहाडका विभिन्न जिल्लाहरु समेत पुग्ने गरेका छन्।
तर उक्त गडीहरुमा यात्रा गर्नेहरुका अनुसार स्वास्थ्य परीक्षण र सेनिटाईजको प्रभावकारी व्यवस्था छैन्। भारतबाट आयात हुने सामाग्री तथा गाडीहरुलाई सेनिटाईज गरिरहेको कैलाली भन्सार कार्यालयका प्रमुख ईश्वरी अर्यालले बताउँछन्। ‘पछिल्लो दिनमा १० भन्दा बढी गाडी तरकारी लिएर नेपाल भित्रिएको छन्’, उनले भने, ‘गाडी सामानहरुलाई हामीले सेनिटाईज गरिरहेका छौं, चालक, सह–चालकलाई धनगढी उप–महानगरपालिकाले सेनिटाईज गर्ने व्यवस्था मिलाउने भनेको थियो सुरु भएको छैन्।’
कैलाली कञ्चनपुर सहित सुदूर पहाडको जिल्ला डडेल्धुरामा अहिले स्थानीय उत्पादनको तरकारी प्रशस्त रहेको किसानहरुले बताएका छन्। आलु र प्याज लगायतका केही तरकारीहरु भारतबाट आयात भईरहेका छन्। उता सुदूरपश्चिमकै बाजुरामा उत्पादन भएको आलुले अहिले सम्म बजार पाएको छैन्। सुदूरपश्चिमका किसानहरुले जिल्ला प्रशासनसंगै स्थानीय सरकारलाई तरकारीको बजारीकरणमा सहयोग गर्न पटक–पटक आग्रह गरेपनि वेवास्ता गरेको आरोप लगाएका छन्।
कोरोनाको जोखिमबाट बच्न र स्थानीय उत्पादनलाई बजारीकरण गरी किसानहरुको आय स्रोत बृद्धि गर्नका लागि भारतबाट आयात हुने तरकारीमा केही दिनको लागि रोक लगाउन माग गरिएको छ। यस्तै गुनासोको आधारमा केही दिनलाई तरकारी आयातमा रोक लगाईएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।
‘बजारमा तरकारीको अभाव सिर्जना भएपछि फेरी आयात गर्न केही खुकुलो पारिएको हो’, उनले भने, ‘स्थानीय उत्पादनलाई बजारीकरण गर्नका लागि स्थानीय तहका जनप्रतिनिधीले किसानहरु पहिचान गर्नुहोस्।’ समस्यामा परेकालाई प्रशासन सहयोग गर्न तयार रहेको उनले बताए। विश्व नै कोरोना भाईरससंग लडिरहेका बेला भारतमा समेत संक्रमितको संख्या बढ्दै गएको छ।
त्यसकारण पनि कोरोनाको जोखिमबाट जोगिनको लागि केही दिनलाई भारतबाट आयात हुने तरकारीमा रोक लगाउन माग गरिदै आएको छ। तर गौरीफन्टा नाका भएर तरकारी मात्रै नभएर अहिले आवश्यक नै नभएका कोईला लगायतका वस्तुको समेत निर्वाध रुपमा आयात भईरहेको छ।