सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा रहेका सुदूरपश्चिमका १० जनामा कोरोना संक्रमण

२०७६ चैत्र २८, ०३:०७ खबर संवाददाता

धनगढी : भारतमा कोरोनाको संक्रमण बढ्दै गएका बेला त्यहाँ रहेका सुदूरपश्चिमवासीमा पनि संक्रमण देखिन थालेको छ। अहिले सम् मभारतका दुई राज्यमा रहेका १० जना सुदूरपश्चिमवासीमा कोरोनाको संक्रमण देखिएको छ। कामको सिलसिलामा भारतमा बस्दै आएको सुदूरपश्चिमका दुई परिवारका १० जना सदस्यमा कोरोेना संक्रमण भएको खुलेको हो।

यसअघि दक्षिण भारतको बेंग्लोरमा बस्दै आएका बझाङका ४५ वर्षीय पुरुष र उनकी ३५ वर्षीया श्रीमतीमा कोरोना भाईर कोभिड–१९ पुष्टि भएको थियो। पहिले श्रीमतीमा कोरोना संक्रमण देखिएको थियो। उनी एक भारतीय परिवारमा घरेलु कामदारका रुपमा कार्यरत थिइन्। त्यो परिवारकी एक महिला सदस्य गत १२ मार्चमा लण्डनबाट बेंग्लोर आएकी थिइन्। पछि स्वास्थ्य परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो।

त्यसपछि उक्त भारतीय परिवारको घरमा काम गर्नेहरु सबैलाई बेंग्लोरकै भिक्टोरिया अस्पतालमा आइसोलेसनमा राखेर स्वास्थ्य परीक्षण गरिएकोमा स्वास्थ्य परीक्षण रिपोर्टमा बझङकी ति नेपाली महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको थियो।

ती नेपाली महिलामा कोरोना पुष्टि भएपछि स्थानीय प्रशासनले उनका श्रीमान् र चारजना छोराछोरीलाई पनि तत्कालै आइसोलेसनमा राखेको थियो। स्वास्थ्य परीक्षणमा महिलाका श्रीमानलाई पनि कोरोना भाईरस देखिएको हो। छोराछोरीको रिपोर्ट भने नेगेटिभ आएको छ। 

यस्तै भारतको मुम्बईमा एकै परिवारका ८ जना नेपालीमा कोरोनाको संक्रमण पुष्टि भएको छ। अछाम चौरपाटि गाउपालिका ५ लुग्रा स्थाई घर भई मुम्बईमा बसोबास गर्दै आएका ८ जनामा कोरोना संक्रमण देखिएको हो।

अहिले संक्रमित सबको फरक–फरक अस्पतालमा उपचार भईरहेको छ। कोरोना संक्रमण देखिए पनि उनीहरु आठै जनाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ। संक्रमितले सामाजिक संजाल फेसबुक मार्फत पनि सो कुराको बारेमा जानकारी दिएका छन्।

कमेन्ट लोड गर्नुस