सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा चर्चका सेवकको ठगी धन्दा, ६० लाख असुलेर सम्पर्क विहीन

२०८१ माघ ७, ०६:५८ नारायण अवस्थी

धनगढीः कैलालीमा चर्चका सेवकले पावर टिलर दिने भन्दै किसानलाई ठगेको खुलेको छ।

जिल्लाको धनगढी उपमहानगरपालिका–१६ जलघुस्राको विश्वास एजी चर्चमा बस्दै आएका राजकुमार चौधरीले स्थानीय किसानलाई ठगेका हुन्।

अत्तरिया घर भएका चौधरी जलघुस्रको चर्चमा बस्दै आएका थिए। करिब १० वर्षसम्म चर्चमा बसेका चौधरीले स्थानीय ५५ जना किसानलाई पावर टिलर दिने भन्दै ठगेका हुन्। राजकुमारले जलघुस्रा, गौरीगंगा र कैलारीका ५५ जना किसानलाई आधा मूल्यमा पावर टिलर दिने भन्दै ६० लाख ३९ हजार रकम सङ्कलन गरेर फरार भएको पीडित किसानले बताएका छन्।

गत असार र साउनमा रकम उठाएका चौधरी पावर टिलर नदिएरै सम्पर्क विहीन भएको धनगढी–१६ का पीडित किसान श्याम बहादुर थापाले बताए। उनले राजकुमारले आफूबाट पावर टिलर दिने भन्दै एक लाख ३३ हजार रुपैयाँ उठाएको बताए। ‘राजकुमारले पावर टिलर दिने भन्दै एक लाख ३३ हजार रुपैयाँ नगदै लिएका हुन्,’ उनले भने, ‘ऋण लिएर दिएको रकम लिएको भोलिपल्टबाट उनी हाम्रो सम्पर्कमै आएनन्। अहिले ऋणको व्याज तिर्नसमेत समस्या भएको छ।’

चर्चमा सेवकाइ गर्थे चौधरी

कैलालीको गोदावरी नगरपालिकाको अत्तरियामा स्थायी ठेगाना भएका ३६ वर्षीय राजकुमार चौधरी धनगढी उपमहानगरपालिका– १६ स्थित जलघुस्राको विश्वास एजी चर्चमा करिब १० वर्षदेखि सेवकको काम गर्दै आएका व्यक्ति हुन्। राजकुमार लामो समय श्रीमतीसहित जलघुस्राको चर्चमा बसेका थिए। उनै राजकुमारले स्थानीयसँग दोस्ती गर्दै ठगी गरेर अहिले सम्पर्क विहीन भएका हुन्।

राजकुमारले आधा मूल्यमा पावरटिलर र रिपर दिन्छु भन्दै ५५ जना किसानलाई ठगेको विषय सार्वजनिक भएपछि असोजमा उनलाई चर्चबाट निकालेको पास्टर भागीराम चौधरीले बताएका छन्। ५५ जनाबाट मोटो रकम उठाएर ६ महिनासम्म राजकुमार सम्पर्कमा नआएपछि अहिले पीडितहरू कानुनी उपचार खोज्न एकजुट हुन थालेका छन्।

राजकुमार विरुद्ध उजुरी दिन जिल्ला प्रशासन कार्यालयमा पुगेको पीडित दिनेश चौधरीले बताए। ‘मसहित ५५ जनाबाट पावरटिलर दिने भन्दै राजकुमारले ६० लाख भन्दा बढी रकम उठाएको थाहा भएको छ। उनी रकम उठाएर अहिले सम्पर्क विहीन भएका छन्,’ उनले भने, ‘अहिलेसम्म सम्पर्कमा नआएकाले हामी उनका विरुद्ध उजुरी दर्ता गर्न आएकाम हौँ।’

आधा मूल्यमा पावरटिर दिन्छु भन्दै ठगी

बजार मूल्यभन्दा आधा रकमा पावर टिलर दिने बताएका राजकुमारलाई धनगढी–१६ जलघुस्राकी धर्मावती चौधरीले पावर टिलरका लागि गत असारमा एक लाख ३० हजार दिएकी छन्।

धर्मावतीले समूहबाट ऋण लिएर राजकुमारलाई पैसा दिएकी हुन्। पैसा बुझाउँदा एक हप्तामा पावर टिलर दिने बाँचा गरेका राजकुमार त्यसपछि भने सम्पर्कमै नआएको धर्मावतीले बताइन्। राजकुमारले समूहबाट ऋण लिएको रकम ठगेपछि अहिले परिवारमा दैनिक श्रीमान÷श्रीमतीको झगडा हुने पीडित धर्मावतीको गुनासो छ। ‘एक हप्ताभित्रै आधा मूल्यमा पावरटिलर दिन्छु भनेर राजकुमारले रकम मागेका हुन्। भाइ जस्तै सम्झेर समूहबाट ऋण निकालेर एक लाख ३० हजार दिएकी हुँ, त्यसपछि उनी सम्पर्कमै आएनन्। अहिले घरमा यहीँ विषयमा श्रीमान/श्रीमती झगडा हुने गरेको छ,’ धर्मावतीले गुनासो गरिन्।

पीडित किसान ६ महिनापछि न्यायको खोजीमा

धनगढी–१६ का जितेन्द्र चौधरीलबाट राजकुमारलाई असार ३१ गते पावर टिलरका लागि एक लाख ३० हजार लिएका थिए। एक हप्ताभित्र पावरटिलर दिने बाँचा गरेका उनी त्यसपछि सम्पर्कमै नआएको पीडित जितेन्द्र चौधरीले बताए।

राजकुमार चौधरीले ५५ जना किसानबाट केही दिनमै ६० लाख ३९ हजार रुपैयाँ उठाएको पीडितहरूको दाबी छ।

असार र साउन दुई महिनामा ५५ जनाबाट राजकुमारले रकम उठाएको विवरण आफूहरूसँग रहेको उनीहरूले बताएका छन्। रकम उठाएको ६ महिना पूरा हुँदा पनि राजकुमार चौधरी सम्पर्कमा नआएपछि जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्न आएको पीडित दीपक चौधरीले बताए। ’राजकुमार चौधरी अहिले हाम्रो सम्पर्कमै आउन मान्दैनन्। हामीले अहिलेसम्म कुरेको हो, केही सिप नलागेपछि जिल्ला प्रशासनमा आज उजुरी दिन आएका छौँ,’ दीपकले भने।

चर्चमा बसेर स्थानीयसँग घुलमिल भएर विश्वासमा पार्दै राजकुमारले आफूहरूलाई ठगी गरेको पीडित किसानहरूले बताएका छन्। उनीहरूले समूह, लघुवित्त र सहकारीबाट लिएको ऋण रकम राजकुमारले ठगेर फरार भएको बताएका छन्।

यो विषयमा राजकुमार चौधरीसँग कुराकानी गर्न सम्पर्क गर्न खोज्दा उनका दुबै मोबाइल नम्बरमा फोन सम्पर्क हुन सकेन।

 

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस