कैलालीमा ‘अफ्रिकन स्वाइन फिभरका कारण ३८ बङ्गुर मरे
धनगढीः ‘अफ्रिकन स्वाइन फिभर’ का कारण कैलालीको घोडाघोडीमा ३८ वटा बङ्गुर मरेका छन्।
घोडाघोडी नगरपालिका–९ का किसान प्रदेशु चौधरीले पालेका बङ्गुर मरेका हुन्। घोडाघोडी नगरपालिकाका पशु स्वास्थ्य प्राविधिक मनोज आचार्यले बङ्गुर मर्न थालेपछि गरिएको परीक्षणमा ‘अफ्रिकन स्वाइन फिभर’ पुष्टि भएको बताएका छन्। यही पौष १८ गते पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीमा परीक्षण गर्दा रोग पुष्टि भएको उनले बताएका हुन्।
सो रोगका कारण हालसम्म चौधरीको फार्ममा ३२ पाठापाठी, पाँच माउ बङ्गुर र एक भाले बङ्गुर मरेका छन्। कैलाली र कञ्चनपुरलगायत जिल्ला अफ्रिकन स्वाइन फिभरको उच्च जोखिममा छन्। २०७९ कार्तिमा पहिलोपटक कैलालीको भजनीका कृषक जय बुढाको बङ्गुर फार्ममा सो रोग देखापरेको थियो। त्यसबेला बुढाले पालेका चार सय ८२ बङ्गुर मरेका थिए। त्यसपछि कैलाली, कञ्चनपुरलगायत जिल्लामा यो रोग देखा परेको हो।
अफ्रिकन स्वाइन फिभर बङ्गुर/सुँगुर र बँदेलहरूमा भाइरसबाट लाग्ने महामारी रोग भएको बताइएको छ। सङ्क्रमित हुने सुँगुर, बङ्गुर तथा बँदेल प्रजातिमा १०४ देखि १०७ डिग्री फरेनहाइटसम्म ज्वरो आउने गरेको पशुचिकित्सकले बताएका छन्। त्यसबाहेक कान, पुच्छर र पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, शरीरमा नीलो धब्बा देखिने, खाना नखाने, छेर्ने, लड्खडाउने, तुहिने र ज्यानै जाने अवस्था आउने गरेको पशु स्वास्थ्य प्राविधिक आचार्यले बताएका छन्। रोगी बुङ्गुरसँगको संसर्ग र तिनको ओसारपसारमा प्रयोग हुने वस्तुहरूमार्फत पनि यो रोग सर्ने गरेको उनले बताएका हुन्।