सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरमा १३ सय ७५ हेक्टर क्षेत्रफलमा माछापालन गरिँदै

२०८१ मंसिर २४, १२:४० खबर संवाददाता

धनगढीः कैलाली र कञ्चनपुरमा १३ सय ७५ हेक्टर क्षेत्रफलमा हाल माछा उत्पादन गर्ने काम भइरहेको छ। यी दुई जिल्लामा माछाको माग बढ्दै गएपछि उत्पादन समेत बढ्दै गएको छ।

हाल वार्षिक १० हजार मेट्रिकटन माछा उत्पादन हुँदै आएको छ। आगामी १० वर्षमा उत्पादन बढाएर ३० हजार मेट्रिकटन पुगाउने सरकारी लक्ष्य छ। हाल कैलाली र कञ्चनपुरमा उत्पादित माछाले ६५ प्रतिशत माग धानेको छ। माछा उत्पादन बढाउन र यसका लागि आवश्यक पूर्वाधार निर्माण गर्न प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ५ करोड बजेट समेत विनियोजन गरेको छ।

कैलाली र कञ्चनपुर जिल्ला प्राकृतिक तालको हिसाबले अग्रस्थानमा छन्। कैलालीमा १९४ र कञ्चनपुरमा ४८ गरी २४२ वटा प्राकृतिक ताल छन्। तीमध्ये अधिकांश तालहरु उपयोगमा छैनन्। प्राकृतिक तालहरुमा व्यवसायीक रुपमा माछापालन गरेर आयआर्जन गर्न सकिने संभावना हुँदाहुँदै पनि उपयोगमा ल्याउन सकिएको छैन्।

केही तालहरुमा भने किसानले व्यवसायीक रुपमा माछापालन गरेर आयआर्जन गर्दै आएको मत्स्य विकास केन्द्र, गेटाका प्रमुख निर्मलबहादुर खातीले बताए। प्राकृतिक ताल तथा पोखरी स्थानीय तह र सामुदायिक वनले ठेक्कामा दिएर किसानले माछापालन गर्दै आएको उनले बताए। कैलाली र कञ्चनपुरमा २ हजार ५४२ वटा ताल र पोखरीमा माछा पालन हुँदै आएको छ। यी दुई जिल्लामा माछा पालनको क्षेत्रफल एक हजार ३७५ हेक्टर छ।

ती ताल तथा पोखरीमा ५ हजार ३८० किसान व्यावसायिक रुपमा माछा पालनमा संलग्न छन्। कैलाली र कञ्चनपुरमा उत्पादिन माछाले स्थानीय बजारको ६० देखि ६५ प्रतिशत माग धानेको खातीले बताए। प्राकृतिक तालमा माछाको उत्पादकत्व २ दशमलव ३ मेट्रिकटन प्रतिहेक्टर छ। माछा उत्पादन बढाउन विभिन्न पहल भइरहेको मत्स्य विकास केन्द्र गेटाको दाबी छ।

आगामी १० वर्षमा माछा उत्पादन वार्षिक १० हजार मेट्रिकटनबाट बढाएर ३० हजार मेट्रिकटन पुगाउने लक्ष्य प्रदेश सरकारको छ। चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले माछा पालन क्षेत्रका लागि ५ करोड बजेट विनियोजन गरेको छ। यस्तै, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले कैलालीमा माछा जोन कार्यक्रमसमेत अगाडि बढाएको छ। यस वर्ष धनगढी उपमहानगरपालिका, कैलारी गाउँपालिका, घोडाघोडी र भजनी नगरपालिकामा एक करोड बजेटको माछा जोन कार्यक्रम सञ्चालन गरिँदैछ। मत्स्य विकास केन्द्र गेटाले पनि माछा उत्पादन बढाउने गरी काम गर्दै आएको छ।

कमेन्ट लोड गर्नुस