लम्कीचुहा नगर अस्पतालको नयाँ भवन निर्माण सुरु
धनगढीः कैलालीको लम्कीचुहा नगरपालिकामा नगर अस्पतालको नयाँ भवन निर्माण हुने भएको छ।
आज लम्कीचुहा नगरपालिकाका नगर प्रमुुख सुशीला शाहीले नयाँ भवनको शिलान्यास गरेकी हुन। बिरामीको चापलाई मध्यनजर गर्दै नगर अस्पतालको स्तरोन्नति गरी २५ श्ययाको अस्पताल सञ्चालन गर्ने उदेश्यले नयाँ भवन निर्माण गर्न लागिएको उनले बताइन। नयाँ भवन निर्माण भएपछि बिरामीलाई सेवा दिन सहज हुने उनको भनाइ छ।
हाल लम्कीचुहा नगरपालिकामा दैनिक तीनदेखि चार सय बिरामीले सेवा लिइरहेका छन्। सेवाग्राहीलाई सेवा दिन पर्याप्त भवनको अभाव भएकाले नयाँ भवन निर्माण हुन लागेको अस्पतालका व्यवस्थापन प्रमुुख जयन्द्र जैशीले बताए।
लम्कीचुहा नगरपालिका र सुदूरपश्चिम प्रदेश सरकारको संयुक्त लगानीमा निर्माण हुन लागेको भवन अढाई तलाको हुनेछ। पहिलो चरणमा एक तलाको काम चालु आर्थिक वर्षको असार मसान्तमा सम्पन्न गर्ने लक्ष्य छ। हाल १५ श्ययाको अस्पताल भवन निर्माणसँगै २५ श्ययामा स्तरोन्नति गरिने जैशीले बताए।