यु–२० साफ च्याम्पियनशिपमा भारतसँग भुटान पराजित
काठमाडौँः २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा भारतसँग भुटान पराजित भएको छ।
ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा भारतले भुटानलाई १–० गोलले हराएको हो। भारतका लागि मोनिरुल मोलाले ३७ औं मिनेटमा गोल गरे। यो खेल निकै तनावपूर्ण रहेको थियो।
यो खेलमा भारतका दुई जना र भुटानका एक जना खेलाडीलाई रेफ्रीले रेड कार्ड देखाएका थिए। खेलको ६५ औ मिनेटपछि भारत ९ र भुटान १० जना खेलाडीमा सीमित भएको थियो। जीतसँगै भारतले समूह ‘बी’ मा ३ अङ्क जोडेको छ।
प्रतियोगितामा भोलि समूह ‘ए’ का बङ्गलादेश र श्रीलङ्का खेल्दैछन्। हिजोदेखि सुरू भएको प्रतियोगिता यही भदौ १२ गतेसम्म चल्नेछ । प्रतियोगिताको समूह ‘ए’ मा आयोजक नेपालसहित बङ्गलादेश र श्रीलङ्का तथा समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान छन्।