नारामा माहिर सुदूरपश्चिम सरकार, कृषिमा बुँदैपिच्छे नारा
वीरेन्द्र भट्ट, धनगढीः सुदूरपश्चिम प्रदेशको बजेटमा प्रत्येक अनुच्छेदमा नारा भेट्न सकिन्छ।
अधिकांश कार्यक्रम नारामा नै अडिएको प्रदेशको बजेटले ‘आत्मनिर्भर कृषि, प्रदेशको समृद्धि’ नारा दिएर कृषितर्फको बजेट ल्याएको थियो। ‘नमुना गाउँ आफै बनाउँ’ नारा दिएर २५ करोड विनियोजन गरिएको थियो। सुदूरपश्चिम सरकारको बजेटमा, बजेटभन्दा नाराले बढी प्राथमिकता पाउने गरेको छ। केन्द्रको सिको गर्दै प्रदेशको बजेट बर्सेनि नारामुखि बन्दै गएको हो।
प्रदेश सरकारबाट किसानले लाभ लिन सकेका छैनन्। कृषि अनुदान पनि वास्ताविक किसानले पाउने गरेका छैनन्। नेता निकटका व्यक्ति र कार्यकर्ताले किसानको नाममा लाभ उठाइरहेका प्रशस्त उदाहरणहरु छन्। कागजी प्रक्रिया मिलाएर कृषि अनुदान पचाउने काम हुँदै आएको छ।
मन्त्री र नेतासँग पहुँच नभएका किसानले प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र मातहतका निकायबाट कृषि सुविधा प्राप्त गर्न सक्ने अवस्था नभएको धनगढी उपमहानगरपालिका–६ का किसान विष्णुदत्त खत्रीले बताए। किसानको नाममा सुदूरपश्चिम सरकारले नारा भने वर्षेनि दिँदै आएको छ।
‘आत्मनिर्भर कृषिः प्रदेशको सम्वृद्धि’
कृषिमा सुदूरपश्चिमका किसान परनिर्भर छन्। यसकारण प्रदेश सरकारकाले ‘आत्मनिर्भर कृषिः प्रदेशको सम्वृद्धि’ नारा नै दिएर योजना बनाएको छ। तर कार्यान्वयन हुन सकेको छैन्। जग्गा चक्लाबन्दी र खेती चक्लाबन्दीलाई प्रोत्साहन गरेर जग्गा बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्न स्थानीय तहसँगको समन्वय र सहकार्यमा बाँझो जमिन, बैंक स्थापना गर्ने भन्दै सो नारा अघि सारिएको थियो। तर काम भने हुन सकेको छैन्।
‘एक खेतमा तीन बाली उत्पादन वृद्धि गरौ यसैपाली’
दुई बाली लगाउन मल, बिउ लगायत सिँचाई सुविधाबाट समेत वञ्चित किसानका लागि ‘एक खेतमा तीन बाली उत्पादन वृद्धि गरौ यसैपाली’ भन्ने नारा दिएर प्रदेश सरकारले अर्को योजना अघि सारेको छ। कृषकको जमिनमा वर्षैभरी सिँचाई सुविधा विस्तार गरेर उत्पादन वृद्धि गर्न १६ सय बोरिङ निर्माण गर्ने लगायत योजना सो नाराअन्तर्गत समावेश गरिएको छ। तर नाराअनुसार काम भने हुन सकेको छैन्।
‘कृषि आयमा वृद्धिः किसानको सम्वृद्धि’
सुदूरपश्चिमका किसानले कृषिबाट आम्दानी गर्न सकेका छैनन्। यही वास्ताविकतालाई ध्यानमा राखेर ‘कृषि आयमा वृद्धिः किसानको सम्वृद्धि’ भन्ने नारा अघि सारिएको भए पनि काम केही पनि हुन सकेको छैन्। कृषिबाली वस्तुको न्युनतम समर्थन मुल्य तोक्न आवश्यक व्यवस्था मिलाई बाली वस्तुको खरिद र भण्डारण गर्न निजी क्षेत्र र सहकारीलाई प्रोत्साहन गर्ने विषय यस नारा अन्तर्गत समावेश गरिएको छ।
‘माटो जोगाऔंः उत्पादन बढाऔं’
कृषि उत्पादन बढाउन माटो जोगाउने योजना पनि प्रदेश सरकाले अघि सारेको छ। माटो जोगाएर उत्पादन बढाउने भन्दै ‘माटो जोगाऔंः उत्पादन बढाऔं’ नारा तय गरिएको भए पनि काम केही पनि हुन सकेको छैन्। कृषियोग्य भूमिको माटो स्वस्थ्य बनाएर माटो उर्वराशक्ति बढाई बाँझो र उपभोगमा नभएको जग्गालाई उपभोगमा ल्याउन भू–उपयोग योजना तयारी गर्ने विषय केबल कागजमा मात्र सिमित बन्न पुगेको छ।
‘गोठदेखि ओठसम्म स्वच्छ दुध’
किसानको पलायत पछिल्लो समय बढ्दो छ। आफुले गरेको पेशाबाट जीवन निर्वाह गर्न कठिन हुन थालेपछि पयालन बढ्दो क्रममा छ। तर प्रदेश सकाराले भने ‘गोठदेखि ओठसम्म स्वच्छ दुध’ भन्ने नारा अघि सारेको भए पनि नाराअनुसार काम भएको छैन्। प्रदेश दुग्ध विकास बोर्ड गठन गरेर समग्र प्रदेशको दुग्ध क्षेत्रको विकास योजना तयार गर्ने लगायत कार्यक्रम अहिलेसम्म कार्यान्वयनमा छैनन्।