प्रधानमन्त्री कप भलिबलमा महिलातर्फको उपाधि नेपाल पुलिस क्लबलाई
काठमाण्डौँः प्रधानमन्त्री कप एनभीए भलिबलमा महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ।
राखेपको कभर्ड हल त्रिपुरेश्वरमा भएको खेलमा पुलिसले एभरेष्ट भलिबल क्लबलाई ३–२ को सेटमा हराएर उपाधि जितेको हो। पहिलो दुई सेट पुलिसले जितेको थियो। त्यसपछि लगातार दुई सेटमा एभरेष्टले पुलिसमाथि जित निकाल्यो। अन्तिम तथा निर्णयक सेटमा पुलिसले एभरेष्टलाई १५–१२ ले जित्यो।
यस्तै सशस्त्र प्रहरीको एपीएफ क्लब महिलातर्फ तेस्रो भएको छ। आज भएको खेलमा नेपाल आर्मीलाई ३–० को सेटमा हराएर एपीएफ तेस्रो भएको हो। अहिले पुरुषतर्फको गण्डकी प्रदेश र हेल्प नेपालले खेलिरहेका छन्। गण्डकी शीर्ष र हेल्प नेपाल दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन्।
पुरुषतर्फ नेपाल पुलिस क्बल तेस्रो भएको छ। पुलिसले त्रिभुवन आर्मीलाई ३–२ को सेटमा हराएर तेस्रो भएको हो। प्रतियोगितामा पुरुषतर्फ आठ र महिलातर्फ ६ वटा टोली सहभागी थिए। पुरुष र महिला दुवैतर्फको विजेताले आठ लाख, उपविजेताले चार लाख र तेस्रो हुने टोलीले दुई लाख रुपैयाँ पाउनेछन्।