सुदूर नेपाललाई विश्वसँग जोड्दै

आयरल्यान्ड ‘ए’ विरुद्धको तेस्रो खेलमा नेपाल विजयी

२०८० चैत्र १९, ०५:२१ खबर संवाददाता

काठमाडौँः नेपाल ‘ए’ ले आयरल्यान्ड ‘ए’ विरुद्ध तीन खेलको टी–२० सिरिजमा सान्त्वना जित निकालेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमवार भएको सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपालले आयरल्यान्डलाई तीन रनले हरायो। सिरिज भने यसअघिनै आयरल्यान्डले जितेको थियो। यस नतिजासँगै आयरल्यान्ड २–१ ले विजयी भयो। नेपाल पहिलो खेलमा २१ रन र दोस्रो खेलमा ४० रनले पराजित भएको थियो।

रोमाञ्चक खेलमा जितमा लागि दुईं सय १४ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा दुई सय १० रनमा समेटिएको थियो। यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा दुई सय १३ रन बनाएको थियो।

नेपालका लागि आरिफ शेखले ४८ बलमा सात चौका र ६ छक्काको सहयोगमा अविजित ९३ रन बनाए। यस्तै रासिद खानले २४, कमलसिंह ऐरीले अविजित १९, बसिर अहमले १९, पवन सरार्फले १३ र कप्तान विनोद भण्डारीले ११ रन जोडे। अब दुई टोलीबिच एकदिवसीय सिरिज पनि हुनेछ।
 

कमेन्ट लोड गर्नुस