एसएमएस च्याम्पियनशिपमा गुजरातमाथि नेपालको शानदार जित
भारतमा भइरहेको एसएमएस च्याम्पियनशिप कप २०२४ टी–२० क्रिकेट श्रृंखलामा नेपालले शानदार सुरुवात गरेको छ। नेपालले गुजरातमाथि ८ विकेटको फराकिलो जित निकालेको हो।
९९ रनको झिनो चुनौती पाएको नेपालले १५.२ ओभरमै २ विकेटको क्षतिमा पूरा गरेको हो। नेपालका लागि अनिल साहले अविजित रहँदै ३२ तथा तथा कप्तान रोहित पौडेलले अविजित रहँदै ३३ रन बनाए। यसअघि नेपालले टस जितेर पहिले बलिङ गर्दै उत्कृष्ट प्रदर्शन गर्यो। नेपालले गुजरातलाई ९८ रनमै रोक्यो।
गुजरात १८.२ ओभरमा अलआउट हुँदै ९८ रनमा रोकियो। रुद्र पटेलले सर्वाधिक २३ रन बनाए। मेघपन स्पोर्ट्स लाइफ ग्राउण्डमा भइरहेको खेलमा नेपालका लागि गुल्सन झाले ४, किरण केसीले ३ तथा सोमपाल कामीले १ विकेट लिए। नेपाली राष्ट्रिय टिम, गुजरात र बरोडाबीच त्रिकोणात्मक श्रृंखला भइरहेको हो।
दोहोरो राउन्ड रोबिनको आधारमा भइरहेको प्रतियोगिताका शीर्ष दुई टिमले फाइनल खेल्नेछन्। नेपालले दोस्रो खेल चैत २० मा बरोडासँग, चैत २१ मा गुजरातसँग खेल्नेछ। त्यस्तै श्रृंखलाको अन्तिम खेल चैत २३ मा बरोडासँग खेल्नेछ। फाइनल चैत २५ गते हुनेछ। नेपालले ओमानमा हुने एसीसी प्रिमियर कपको तयारी स्वरुप यो श्रृंखला खेलिरहेको हो।