सुदूर नेपाललाई विश्वसँग जोड्दै

दोस्रो टी–२० अभ्यास खेलमा नेपाल ’ए’ आयरल्यान्डसँग पराजित

२०८० चैत्र १७, ०५:०९ खबर संवाददाता

काठमाण्डौँः आयरल्याण्ड–उल्भ्ससँगको दोस्रो टी–२० अभ्यास खेलमा नेपाल ’ए’ ४० रनले पराजित भएको छ। आयरल्याण्ड–उल्भ्सले दिएको दुई सय २५ रनको लक्ष्य पछ्याएको नेपाल १७ ओभर पाँच बलमा एक सय ८४ रन बनाउँदा अलआउट भयो।

नेपाल ’ए’ का देव खनालले ४७, विनोद भण्डारीले २६, लोकेश बमले २५ र बसिर अहमदले २७ रन बनाए पनि अरू ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। पावरप्लेअघि ८७ रन बनाएर उत्कृष्ट सुरुवात गरेको नेपाल ’ए’ मध्यक्रम र पछिल्लो क्रमका ब्याटरको खेल कमजोर हुँदा नेपालले दोस्रो हार व्यहोर्नुपर्यो।

यसअघि टस हारेर व्याटिङको निम्तो पाएको आयरल्यान्ड उल्भ्सले २० ओभरमा छ विकेट गुमाएर दुई सय २४ रन बनायो। आयरल्यान्ड–उल्भ्सका कप्तान निल रकले सबैभन्दा बढी ७१ रन बनाए। नेपालका सागर ढकालले तीन, कमल सिंह ऐरी र पवन सर्राफले समान एक विकेट लिए।

आयरल्यान्ड–उल्भ्सले नेपाल ’ए’ सँगको तीन खेलको टी–२० शृङ्खला एक खेल अगावै जितेको छ। हिजो भएको पहिलो खेलमा नेपालको ’ए’ टोली २१ रनले पराजित भएको थियो। शृङखलाको तेस्रो तथा अन्तिम खेल पर्सि सोमवार हुनेछ। टी–२० शृङ्खलापछि यी दुई टोलीले आउने बुधवारदेखि तीन खेलको एकदिवसीय शृङ्खला खेल्नेछन्।
 

कमेन्ट लोड गर्नुस