सुदूर नेपाललाई विश्वसँग जोड्दै

तरकारीमा मनलाग्दी विषादीको प्रयोग, यसो भन्छन् बाली संरक्षण अधिकृत

२०८० माघ १३, ०९:५८ नारायण अवस्थी

धनगढीः तरकारीमा जथाभावी विषादी प्रयोग नगर्न कृषि अधिकारीले आग्रह गरेका छन्।

जथाभावी विषादी प्रयोग गर्दा त्यसको नकारात्मक प्रभाव वातावरण र जनस्वास्थ्यमा पर्ने हुन्छ। अत्यावश्यक अवस्थामा कृषि प्राविधिकको परामर्शमा मात्रै विषादी प्रयोग गर्न आग्रह गरिएको छ। विषादी प्रयोगपछि तरकारी र फलफूल निश्चित अवधिसम्म खान र बिक्री गर्न हुन्न। विषादी प्रयोग गरेको कम्तिमा १४ दिनसम्म तरकारी र फलफूल खान र बिक्री गर्न नहुने कृषि ज्ञान केन्द्र कैलालीकि बाली संरक्षण अधिकृत कामना कार्कीले बताइन्।

‘किसानहरूले फलफूल तथा तरकारीमा विषादी प्रयोग गर्दा सावधानी अपनाउन सक्नुपर्छ। विषादीको जथाभावी प्रयोगले पर्यावरण र मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने हुन्छ’, उनले भनिन्, ‘व्यावसायिक तरकारी खेती बढेसँगै विषादीको प्रयोग पनि बढेको छ। विषादी प्रयोग गर्दा र गरिसकेपछि तरकारी उपभोग गर्नुपर्ने समयको ख्याल गरिएन भने समस्या हुन्छ।’

किसानहरूले फलफूल तथा तरकारीमा किटनाशक, रोगनाशक, व्याक्टेरियानाशक, झारनाशक, मुसानाशक र जैविक विषादीको प्रयोग गर्ने गरेका छन्। किसानहरूले जथाभावी विषादी प्रयोग हर्दा त्यसको प्रतिकूल असर मानव स्वास्थ्य र पर्यावरण पर्ने बाली संरक्षण अधिकृत कार्कीले बताइन्।

‘तरकारी बालीमा विषादी प्रयोग गर्ने तरिका र विषादी प्रयोगपछि उपभोग गर्ने समयको विषेश ख्याल गरिनु पर्छ’, उनले भनिन्, ‘कृषि प्राविधिकको परामर्शपछि मात्रै विषादी प्रयोग गर्नुपर्नेमा किसानहरूले रोग तथा किराको प्रकोप के हो भन्ने पत्ता नलगाई विषादी प्रयोग गर्न हुन्न। प्रकोपको प्रकृति र सोही अनुसारको विषादी उचित किसिमले प्रयोग गर्दा फाइदा पुग्छ भने चाहिनेभन्दा फरक र अत्यधिक मात्राको प्रयोगले सही नतिजा नआउने हुन्छ।’

विषादी प्रयोगपछि कम्तिमा १४ दिनसम्म तरकारी उपभोग र बिक्री वितरण गर्न नहुने कार्कीले बताइन्। विषादी प्रयोगपछि पर्खनुपर्ने अवधि अनिवार्य पर्खनुपर्ने सर्तको पालना किसानहरूले गर्नुपर्ने कृषि अधिकारीले बताएका छन्। विषादी प्रयोगपछि पर्खनुपर्ने अवधि पर्खिएपछि विषादीको अवशेष निकै कम हुने र त्यसले मानव स्वास्थ्यमा समस्या गर्दैन।

विषादी प्रयोगको विकल्पमा जैविक विषादी प्रयोग गर्न सके तरकारी र फलफूलमा  विषादीको अवशेषको भय नहुने बाली संरक्षण अधिकृत कार्कीको भनाइ छ। व्यावसायिक किसिमले तरकारी उत्पादन गर्न थालेसँगै विषादीको खपत बढेको कृषि ज्ञान केन्द्र कैलालीले जनाएको छ। विषादीको खपत घटाउन जैविक विषादीको प्रयोग बढाउन किसानहरूलाई विभिन्न तालिम र कार्यक्रम मार्फत सहयोग गर्ने कामसमेत भइरहेको छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस