बैतडीमा मकैबाली सखाप पार्दै जंगली बँदेल
बैतडी: बैतडीमा जंगली बँदेलले मकै बाली सखाप पार्न थालेको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नम्बर–४ भुजनी कनिना मल्लागाउँमा बँदेलले मकैबाली सखाप पारेका हुन्।
यसरी राति बँदेलको बथान आएर किसानहरुले लगाएको मकैबाली नष्ट पार्न थालेपछि किसानहरु चिन्तित बनेको स्थानिय बिरेन्द्र भट्टले बताए। बस्ती नजिकका जंगलबाट आएर बँदेलले मकै नष्ट गर्ने गरेको उनले बताए। गाउँ नजिकैको जंगलबाट राति बँदेल आउन थालेपछि गाउँका नागरिक पहरा बस्ने गरेको भएपनि आधा रातमा आएर मकै बाली सखाप पार्न थालेको भट्टले बताए।
यसरी किसानले मेहेनत गरेर लगाएको बालीहरु वर्षेनी जंगली जनावरहरुले सखाप पार्न थालेपछि किसान चिन्तित बनेका छन्। हरेक वर्ष जंगली बँदेलले बालीनालीमा व्यापक क्षति पुर्याउन थालेपछि कतिपय ठाउँका किसानहरुले बाली लगाउनै छोडेका छन्।
जिल्लाका सबैजसो स्थानीय तहमा जंगली बँदेलको आतंक रहेको किसानहरुले बताएका छन्। जिल्लाका विभिन्न ठाउँमा जंगली जनावरहरुले वर्षेनी बालीनालीमा क्षति पुर्याउने गरेकाले नागरिकहरुको कृषि पेशामा आर्कषण घट्दै गएको छ।