रानी–जमराको मुल नहरबाट १२ वर्षपछि किसानको खेतखेतमा पानी
टीकापुरः कैलालीको टीकापुर नगरपालिका–१ विपतपुरका स्थानीय कुलोमा पानी आएपछि निकै खुशी छन्। राष्ट्रिय गौरवको रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाले बन्द भएको विपतपुर, राजिपुर सिँचाइ कुलोलाई पुनः सञ्चालनमा ल्याएपछि किसान उत्साहित भएका हुन्। आयोजना शुरू भएको १२ वर्षपछि आयोजनाको मूल नहरबाटै पानी सञ्चालन भएको हो।
आयोजनाले गत जेठ ३१ गते साँझ मूल नहरबाट पठाएको पानी शाखा, उपशाखा नहर हुँदै पानी किसानको खेतखेतमा पुगेको छ। किसानले शाखा नहरमा पानी पुगेपछि विधिपूर्वक पूजा गरेर नहर सञ्चालन गरेका छन्। आर्थिक वर्ष २०६७/६८ देखि निर्माण शुरू भएको आयोजनाले यसअघि मूल नहरको परीक्षण गरे पनि सञ्चालनमा ल्याउन सकेको थिएन।
पटकपटक मूल नहर सञ्चालनको लागि आयोजनाले तयारी गरे पनि बर्सातको समयमा आउने बाढीले नहरमा क्षति पु¥याउने भएपछि मूल नहर सञ्चालनमा ढिलाइ भएको आयोजना प्रमुख केदार श्रेष्ठले बताएका छन्। यस पटक मूल नहरबाट पानी ल्याई तीनवटै कुला प्रणालीमा ४५ क्युमेक्स पानी पठाइएको उनले बताएका छन्। त्यो पानीले १४ हजार तीन सय हेक्टर जमिनमा सिँचाइ हुनेछ।
अहिले मूल नहरबाट पानी आएपछि किसान ढुक्क भएका छन्। जमरा कुलो जल उपभोक्ता संस्थाका अध्यक्ष मानवबहादुर चौधरी नहरबाटै पानी किसानको खेतमा पुगेपछि जोखिम घटेको र आम्दानी बढ्ने अपेक्षा समेत गरेका छन्। २७ अर्ब ७० करोड २३ लाख रुपैयाँ लागत रहेको आयोजनामा १७ अर्ब ५६ करोड ७२ लाख रुपैयाँ नेपाल सरकार, ९ अर्ब ९५ करोड ५१ लाखरुपैयाँ विश्व बैंकको ऋण र १८ करोड रुपैयाँ उपभोक्ता समितिको लगानी भइरहेको छ।
आयोजनामा हालसम्म १८ अर्ब खर्च भइसकेको आयोजनाले जनाएको छ। आउँदो आर्थिक वर्षमा आयोजनाको समयावधि सकिनै लाग्दा पनि हालसम्म आयोजनाको करीब ६० प्रतिशत काम मात्रै सम्पन्न भएको छ।