प्रदेशको कृषि कार्यक्रमबाट ६ सय मेट्रिकटन फलफूल उत्पादन
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले सञ्चालन गरेको फलफूल उत्पादन कार्यक्रमबाट ६ सय मेट्रिकटन फलफूल उत्पादन भएको छ। एक वर्षमा ६ सय मेट्रिकटन फलफूल उत्पादन भएको प्रदेश सरकारको दाबी छ।
मुख्यमन्त्री एकीकृत कृषि कार्यक्रम सञ्चालन भएसँगै गत आर्थिक वर्ष २०७८/०७९ मा उक्त परिमाणमा फलफूल उत्पादन भएको देखाइएको हो।
मुख्यमन्त्री एकिकृत कृषि तथा पशुपन्छी विकास र चाक्लाबन्दी कार्यक्रमबाट १८ हजार ५ सय मेट्रिकटन आलु, ४२ हजार ५ सय मेट्रिकटन ताजा तरकारी तथा १६ मेट्रिकटन मासु उत्पादन भएको उल्लेख गरिएको छ।
प्रदेश सरकारले सञ्चालन गरेका कृषि कार्यक्रमबाट १५ प्रतिशत हिउँदेबाली उत्पादनमा वृद्धि भएको देखाइएको छ। कैलाली र कञ्चनपुरमा दुई हजार हेक्टरमा केराखेती विस्तार भएर ७० प्रतिशत आन्तरिक माग पूरा भएको जनाइएको छ।
तर, अहिले पनि भारतबाट ठुलो परिमाणमा केरा आयात हुँदै आएको छ। कृषि कर्जा, व्याज, विद्युत र भन्सार महसुलमा अनुदान कार्यक्रममार्फत एक सय ४५ जना लाभान्वित भएको प्रदेश सरकारको वार्षिक प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ।