सुदूरपश्चिममा टेलिकमको नेटवर्कमा गडबड, भएको के हो ?
धनगढीः अहिले सञ्चारको सजिलो र छिटो–छरितो माध्यमको रुपमा मोबाइल फोनलाई लिइन्छ। दैनिक कामकागको सवालमा होस् या अन्य प्रयोजनका लागि पनि कतै केही खबर पुर्याउन तथा सूचना दिनका लागि फोनको प्रयोग हुन्छ। आम सर्वसाधारणदेखि उच्च पदस्थ व्यक्तिहरुले पनि फोनकै प्रयोग गर्ने गरेका छन्।
तर कैलालीसहित सुदूरपश्चिमका अधिकांश स्थानमा नेपाल टेलिकमको नेटवर्कमा समस्या आएको छ। केही दिनदेखि फोन नलाग्ने समस्या देखिन लागेको कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ६ वनबेहडाका योगेन्द्र बोगटीले बताए। ‘हामी सेवाग्राहीलाई नेटवर्कले हैरान पारेको छ। यो समस्या तत्काल समाधान गर्नुपर्छ’ उनले भने।
केहीदिन अगाडि वर्षासँगै आएको हल्का हावाहुरी र चट्याङले गर्दा टेलिकमको नेटवर्कमा समस्या देखिएको बताइन्छ। योसँगै विद्युत अनियमित हुँदा पनि यसको प्रभाव नेटवर्कमा परेको छ। उक्त प्रभाकै कारण धनगढीकै केही क्षेत्रहरुमा टेलिकमको मोबाइल फोनले राम्रोसँग काम गर्ने गरेको छैन। जसकाकारण टेलिकमका आम ग्राहकले यो समस्या भोग्दै आएका छन्। तर नेपाल टेलिकमले समस्या समाधानका लागि काम सुरुसमेत गरेको छैन्।
नेपाल टेलिकम धनगढीका प्रमुख सुरत मल्लले पनि नेटवर्कमा समस्या देखिएको स्वीकार गरेका छन्। ‘विद्युत अनियमित हुँदा फोनमा केही समस्या आएको हो। अब छिटै यो समस्या समाधान हुन्छ’ उनले भने।
नेपाल टेलिकमका उपकरणहरुमा पनि क्षति पुगेको छ। उपकरणमा क्षति पुगेकाले टेलिकमको नेटवर्कमा समेत समस्या देखिएको हो। विशेषगरी विद्युत सञ्चित नभएको स्थानमा यो समस्या बढी देखिएको छ। नेपाल टेलिकमको टावरहरुमा ब्याट्री तथा ब्याकअपको समस्या रहेको छ। तर पनि वैकल्पिक उपायको खोजी गरी समस्या समाधान गर्न नेपाल टेलिकमले ध्यान दिएको छैन।
नेपाल टेलिकमको नेटवर्कमा समस्या आएकाले नागरिकका महत्वपूर्ण कामहरुको सूचना तथा खबर गर्न समस्या हुने गरेको छ।