धनगढी बजारमा नखिच्ने सिसिटिभी क्यामेरा, अपराध नियन्त्रण गर्न प्रहरीलाई समस्या
धनगढीः कैलालीको धनगढीका सरोज जोशीको बुधबार साँझ साढे ५ बजे पर्स हरायो। रातोपुल क्षेत्रमा पर्ने मल्ल अयल स्टोर नजिकै उनको पर्स हराएको थियो। जोशीको पर्समा केही नगदसहित सवारी चालक अनुमति पत्र, बैंकहरुका एटिएम कार्ड लगायत अन्य कागजपत्रसमेत थिए।
त्यसकारण जोशीले हराएको पर्स खोजी गर्ने कार्य तत्काल सुरु गरे। तर, पर्स भने भेटिएन। दोस्रो दिन बिहिवार आफ्नो समस्या लिएर जोशी जिल्ला प्रहरी कार्यालय कैलाली पुगे। र, सिसीटिभी फुटेज हेरिदिन आग्रह गरे। तर बजार क्षेत्रका अधिकांश सिसीटिभी क्यामेराहरु बिग्रेका कारण उक्त फुटेज हेर्न नसकिएको भनाई जोशीको छ।
‘सिसिटिभी फुटेज हेर्न पाएको भए पर्स लग्ने मान्छे पत्ता लगाउन सजिलो हुन्थ्यो,’ उनले भने, ‘यो मात्र हैन, दुर्घटना लगायतका अपराधिक घटनाका कुरा पनि छन्। दुई महिनासम्म मर्मत नहुनु कमजोरी हो।’ धनगढीको मुख्य बजार क्षेत्रमा १९ वटा सिसीटिभी क्यामेरा जडान गरिएको छन्। निजी क्षेत्र लगायत अन्य निकायको सहयोगमा ती क्यामराहरु जडान गरिएका थिए। तर, धनगढीको मुख्य बजारमा १९ वटा क्यामेरा जडान गरिएको भएपनि ४ वटा मात्रै सञ्चालनमा छन्। बाँकी १५ वटा क्यामेरा बिग्रेको लामो समय भएको छ। मर्मत सम्भारमा बेवास्ता गरिएको छ।
केही क्यामेरा वैशाखमा बिग्रेका हुन् भने केही त्योभन्दा अगाडि नै खराब भएका थिए। तर अहिलेसम्म पनि मर्मत सम्भारमा कसैको ध्यान गएको छैन। बजार क्षेत्रका क्यामराहरु बिग्रेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउँदले बताउँछन। ‘राजमार्ग लगायत बजार क्षेत्रका सिसिटिभी क्यामेरा बिग्रेका छन्,’ उनले भने, ‘मर्मत गरेर सञ्चालन गर्ने प्रयास गरिरहेका छौं।’ सुदूरपश्चिम प्रदेश सरकारको करोडौं बजेटमा राजमार्ग क्षेत्रमा पनि सिसीटिभी क्यामेराहरु जडान भएका छन्। चालू आर्थिक वर्षकै बजेटमा उक्त क्यामेराहरु जडान गरिएको हो।
तर जिल्ला प्रहरी कार्यालय कैलालीले निगरानी गर्नेगरी जडान भएका ती क्यामेराहरु पनि लामो समयदेखि प्रयोगविहिन छन्। क्यामेरा जडानकै समयमा आएको प्राविधिक समस्या अझै समाधान हुन सकेको छैन। करोडौं खर्च गरेर जडान गरिएका क्यामेरालाई मर्मत सम्भार गरेर सञ्चालनमा ल्याउनतर्फ भने कसैको ध्यान जान सकेको छैन।
यता सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री डा. रणबहादुर रावलले बिग्रेका क्यामेरा तत्काल मर्मत हुने दाबी गरेका छन्। ‘जडान गरिएका क्यामेरा मर्मत गर्न निर्देशन दिइसकेको छु। यसलाई अझै व्यवस्थित गर्ने काम गर्छौं’ उनले भने। धनगढीको मुख्य बजारसहित अन्य ठाउँका सिसिटिभी क्यामेराहरु सञ्चालन नहुँदा अपराध अनुसन्धान गर्न तथा विभिन्न क्रियाकलापहरुको निगरानी गर्न प्रहरीलाई समस्या हुने गरेको छ।