सेती अस्पतालका सटरबाट सुर्तीजन्य पदार्थको कारोबार
धनगढीः स्वास्थ्य ऐन अनुसार कुनै पनि अस्पताल तथा स्वास्थ्य संस्थाको ५ सय मिटर वरपर मादक तथा सुर्तीजन्य पदार्थ विक्रि वितरण गर्न नपाइने प्रावधान छ। तर धनगढीको सेती प्रादेशिक अस्पतालका सटरहरुमा भने खुलेआम सुर्तीजन्य पदार्थ विक्रि वितरण भइरहेको छ। व्यवसायिक प्रयोजनका लागि भाडामा दिइएका सटरहरुबाट सुर्तीजन्य पदार्थ विक्रि वितरण भइरहेको हो।
उक्त क्षेत्रका व्यापारीहरुले पनि सुर्तीजन्य पदार्थ गुट्खा, चुरोट विक्रि गर्ने गरेको स्वीकार गरेका छन्। जुन प्रावधानविपरित भए पनि रोक्ने काम भने भइरहेको छैन। सेती अस्पतालको सटरमा भोजनालय सञ्चालन गर्दै आएका देव बोहराले पनि विक्रि गर्ने गरेको स्वीकार गरेका छन्। ‘अन्य सटरहरुमा पनि विक्रि हुन्छ। त्यही भएर मैले पनि विक्रि गर्ने गरेको छु। अरु सटरमा पनि हेर्नु न,’ उनले भने।
सेती प्रादेशिक अस्पताल अगाडिका सटरहरु भाडामा दिइएको छ। अधिकांश सटरहरुमा मेडिकल राखिएको छ। केही सटरहरुमा भने किराना पसल तथा नास्ता पसलहरु पनि राखिएका छन्। उक्त किराना तथा नास्ता पसलहरुबाटै सुर्तीजन्य पदार्थ विक्रि वितरण भइरहेको हो। झ्यालबाट अस्पतालभित्र पनि सुर्तीजन्य पदार्थ विक्रि भइरहेको छ।
विशेष गरी अस्पताल अगाडि रहेका पार्वती भोजनालय र ममता स्टोरबाट विक्रि भइरहेको आरोप लागेको छ। सोमबार अस्पतालकै प्रतिनिधिहरुसँग दिनेशखबरको टीम उक्त पसलहरु पुग्दा व्यापारीहरुले पनि विक्रि गर्ने गरेको स्वीकार गरेका छन्। यता अस्पतालले पनि अहिलेसम्म उक्त विषयमा निगरानी नगरेको जनाएको छ।
सेती प्रादेशिक अस्पतालले उक्त सटरहरु भाडामा दिने बेला मादक तथा सुर्तीजन्य पदार्थ विक्रि गर्न नपाइने भनेको थियो। उक्त विषय सम्झौता पत्रमा पनि उल्लेख गरिएको छ। तर सटरधनीहरुले सम्झौताको धज्जी उडाउँदै सुर्तीजन्य पदार्थ विक्रि गर्दा पनि अस्पताल प्रशासन भने बेखबर छ।
अस्पतालका अध्यक्ष नरबहादुर शाहले पनि यस विषयमा अहिलेसम्म गुनासो नआएको बताए। ‘अस्पताल अगाडिका सटरबाट सुर्तीजन्य पदार्थको विक्रि वितरण हुन्छ भन्ने विषय पुष्टि नै भएको छ,’ उनले भने, ‘अब कारबाहीको प्रक्रिया सुरु हुन्छ।’