कैलालीमा आर्थिक अपराधको ग्राफ बढ्दो
धनगढीः कैलाली प्रहरीले यही असार १ गते नक्कली नोट छापिरहेको अवस्थामा २ जनालाई पक्राउ गर्यो। धनगढी उपमहानगरपालिका वडा नम्बर ८ बस्ने २१ वर्षीय रामदास राना र अनुराग रानालाई कैलाली प्रहरीले पक्राउ गरेको हो। उनीहरुलाई धनगढीबाटै नक्कली नोट छाप्ने मेसिनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीहरुको साथबाट नक्कली हजारका नोट पनि बरामद गरिएको थियो। मेसिन राखेर नै नक्कली नोट छाप्ने समूह जिल्लामा सक्रिय रहेको देखिएको छ। धनगढीमा पाँच सय र एक हजारका नक्कली नोटहरु छ्यापछ्याप्ती रुपमा बजारमा गएको अनुमान गरिएको छ। नक्कली नोट छाप्ने व्यक्तिहरु विगतमा पनि पक्राउ पर्ने गरेका थिए। बजारमा नक्कली नोट भेटिन थालेपछि व्यापारी र सर्वसाधारणमा भने त्रास फैलिएको छ।
केही सार्वसाधारण तथा व्यापारीसँग नक्कली नोट हुनसक्ने आशंका प्रहरीको छ। आर्थिक अपराध गर्ने समूहबाट व्यापारीसँग उक्त नोट पुगे पनि विभिन्न भयका कारण व्यापारीले पनि प्रहरीलाई खबर नगरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। ‘नक्कली नोटहरु हाट बजार र अस्पताल लाइनमा गएको हुन सक्छ,’ उनले भने, ‘केही व्यापारीले डरका कारण पनि खबर नगरेका होलान्।’
नक्कली नोटहरु बढी भिडभाड हुने बजार क्षेत्रमा गएको देखिन्छ। धनगढीको हकमा विशेष गरी त्रिनगर हाट बजार र अस्पताल लाइनका पसलहरुमा उक्त नक्कली नोटहरुको कारोबार भएको छ। यस अगाडि पनि यस्तै अपराध गर्ने केही समूहलाई प्रहरीले पक्राउ भने गरेको थियो। तर अहिले पनि नक्कली नोट छाप्नेहरु सक्रिय भएका छन्।
कैलालीमा नक्कली नोटहरु धनगढीसहित अन्य स्थानीय बजाहरुमा समेत पुगेको हुनसक्ने कैलाली प्रहरी प्रवक्ता जोशीले बताए। ‘हामीले यो नियन्त्रण गर्ने काम गरिरहेका छौं,’ उनले भने, ‘यो मात्रै होइन जस्तो सुकै अपराध नियन्त्रण गर्न प्रहरी लागि परेको छ।’