कैलालीमा विद्युतको अनियमित कटौती रोक्न नयाँ लाइन बिस्तार गरिने
धनगढीः गर्मी बढेपछि विद्युतको माग पनि बढ्छ। तर अनियमित विद्युत कटौतीका कारण कैलालीवासी भने हैरान छन्। प्राधिकरणका अनुसार विद्युत कटौती हुनुको प्रमुख कारण नै पुरानो संरचना हो। त्यसकारण धनगढी अत्तरियाको अनियमित विद्युत कटौती रोक्नका लागि नयाँ संरचना बिस्तारका लागि प्रक्रिया सुरु भएको छ।
प्राधिकरणका अनुसार अत्तरियादेखि धनगढी क्षेत्रमा ३३ केभीको नयाँ लाइन बिस्तार गर्नका लागि ठेक्का आह्वान भएको छ। साढे ४ करोडमा उक्त लाइन बिस्तार गर्नका लागि ठेक्का आवहन भएको हो। असार १५ गतेसम्म टेण्डर हाल्न सकिने नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालय प्रमुख जंगबहादुर चन्दले बताए। ‘नयाँ लाइन विस्तारका लागि ठेक्का आह्वान भएको छ। टेण्डर परेपछि सम्झौता गरेर काम सुरु हुन्छ’ उनले भने।
वर्षाै पहिलेको जनसंख्यालाई आधार बनाएर बिस्तार गरिएको प्रसारण लाइन अहिलेको मागलाई धान्न सकिरहेको छैन। पुरानो लाइनमा करेन्टको लोड बढेपछि तार आफै चुडिने लगायतको समस्या देखिन्छ। त्यस्तै समस्याका कारण अहिले पनि विद्युतको आपूर्ति रोकिने गरेको छ। सोही समस्या अहिले धनगढीवासी भोगिरहेका छन्। त्यसकारण पनि उक्त लाइन स्तरवृद्धि गर्नुपर्ने देखिन्छ।
यता, धनगढीमा नै १३२ केभीको शव स्टेशन राख्ने प्रक्रिया पनि सुरु भएको छ। जसका लागि ५ विघा जग्गा आवश्यक पर्ने देखिएको छ। सुरुवातमा साढे २ विघा जग्गा मात्रै प्राप्त भए केही संरचना निर्माण गर्न सकिने बताइएको छ।
जग्गाका लागि धनगढी उपमहानगरपालिकालाई पनि पत्र पठाएको प्राधिकरणले जनाएको छ। विद्युत प्राधिकरण आफै पनि अहिले जग्गाको खोजीमा लागेको धनगढी वितरण केन्द्रका प्रमुख सुर्य नारायण मण्डलले बताए। ‘उपमहानगरपालिकाकालाई पनि जग्गाका लागि पत्र पठाएका छौं। प्राधिकरण पनि खोजीरहेको छ जग्गा। धनगढीमै १३२ केभीको शव स्टेशन भएपछि आपूर्तिमा थप सहज हुन्छ,’ उनले भने।