धनगढी विमानस्थल स्तरोन्नतिमा बढ्यो अन्योलता
धनगढीः नेपाल नागरिक उड्डयन प्राधिकरणले धनगढी विमानस्थल विस्तारका लागि यसअघि नै एक अर्ब बजेट विनियोजन गरेको थियो। क्षेत्रीय विमानस्थलका रुपमा विकास गर्नका लागि जग्गा अधिग्रहणको काम अगाडि बढाउन उक्त बजेट विनियोजन गरिएको हो। सोहीअनुसार आवश्यक पर्ने २ सय ५८ विघा जग्गा अधिग्रहण तथा संरचना निर्माणको प्रक्रिया पनि सुरु भएको थियो।
जग्गाको सर्भे गर्ने काम पनि सकिएको प्राधिकरणले जनाएको छ। जग्गा अधिग्रहण गर्ने प्रक्रियाअन्तर्गत नापी कार्यालयसँग समन्वय गरेर कुन कित्ताको कति मुआब्जा दिने विषयमा पनि काम भइरहेको छ। तर संघीय सरकारले आगामी वर्षका लागि ल्याएको बजेटमा धनगढी विमानस्थल विस्तारका लागि सम्भाव्यता अध्ययन गर्ने भनेपछि अन्योलता सिर्जना भएको प्राधिकरणका इन्जिनियर नलविक्रम थापाले बताए। ‘सम्भाव्यता भनिएपछि हामी पनि सप्राइज भयौं,’ उनले भने, ‘विमानस्थलको अधिकांश काम अगाडि बढेको छ। बजेट मात्रै चाहिएको हो।’
धनगढी विमानस्थललाई क्षेत्रीय बनाउनका लागि सुरु भएको प्रक्रिया अहिलेको बजेट भाषणले अलपत्र जस्तै पारेको छ। सर्भे, डिजिटल म्याप, जग्गा प्राप्ती र डीपीआरसँगै समग्र गुरुयोजनाको काम नै अन्तिम चरणमा पुगेका बेला सम्भाव्यता अध्ययन गरिने भनिएपछि काम अलपत्र जस्तै परेको छ। विमानस्थल विस्तारका लागि अधिकांश प्राविधिक काम सकिएको प्राधिकरणले जनाएको छ।
अब फिल्डमा काम सुरु गर्नका लागि बजेट मात्रै आवश्यक पर्ने देखिएको छ। तर संघीय सरकारको काममा ढिलासुस्ती हुने गरी ल्याएको बजेटले भइरहेको काम पनि प्रभावित भएको धनगढी विमास्थल कार्यालयका प्रमुख रामकृष्ण भट्टले बताए। ‘जग्गा अधिग्रहण गर्ने छिटै त गर्न सकिन्न,’ उनले भने, ‘केही समय त लाग्ने नै भयो। तर अहिलेको बजेटले अन्यौलता सिर्जना गरेको छ।’
धनगढी विमानस्थललाई विस्तार गर्नका लागि जग्गा अधिग्रहण गर्नु नै प्रमुख चुनौती हो। जसका लागि अर्बौं बजेट आवश्यक पर्ने देखिएको छ। तर यसअधि प्राधिकरणले एक अर्ब बजेट मात्रै छुट्यएको थियो। आगामी वर्षका लागि ल्याइएको बजेटमा भने सम्भाव्यता अध्ययन गर्न एक अर्ब ५ करोड दिने उल्लेख गरिएको छ। त्यो पनि ऋण प्राप्त भएपछि मात्रै धनगढीले बजेट पाउने बताइएको छ।
यसरी अधिकांश काम अगाडि बढेका बेला बजेट नै नपाउने अवस्था सिर्जना भएपछि विमानस्थल विस्तारको काम अझै पछाडी पर्ने देखिएको छ। अहिले संघीय सरकारले ल्याएको बजेटमाथि छलफल भइरहेको छ। तर यस क्षेत्रका प्रतिनिधिहरुले भने विनमास्थलका विषयमा बोलेको सुनिएको छैन। त्यसकारण धनगढी विमानस्थल विस्तारमा पनि राजनीनितक चलखेल भइरहेको आशंका उब्जीएको छ।