सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा आएको हावाहुरीले केरा खेतीमा क्षति

२०७९ जेठ २९, १०:३४ खबर संवाददाता

टीकापुर: शनिबार साँझ कैलालीमा आएको हावाहुरीले क्षति गरेको छ। हावाहुरीका कारण टीकापुर क्षेत्रमा मात्रै सयौँ बिघा केराखेती नष्ट भएको किसानको गुनासो छ। टीकापुरका केरा किसान टेकेन्द्र धामीको १० बिघामा लगाएको केराखेती हावाहुरीले ढालेको छ। 

केरा उत्पादन हुने समय नजिकिँदै गर्दा हावाहुरीले केराखेतीमा नोक्सानी गरेपछि किसान पीडामा छन्। टीकापुर केराखेतीका लागि उर्वर भूमि मानिन्छ। यहाँ सयौँ बिघा जमिनमा खेती गरिएको छ। हावाहुरीले कतिपय किसानका पूरै बारी ढालेको छ। “लहरे तरकारी बाली सबै ढालेको छ। लटरम्म फलेका बोडी, फर्सी, काक्रा, लौका, करेलाजस्ता तरकारीमा नोक्सान भएको छ”, किसान झपिन्द्र चौधरीले भने, “तरकारी बारी पूरै हावाहुरीका कारण धुलाम्मे भएको छ । माटो र बालुवा आएर बारीमा भरिएको छ।”

हावाहुरीका कारण क्षति भएका विवरण आइरहेकाले क्षतिको विवरण सङ्कलन गरी नगरपालिकाले पीडामा रहेका किसानलाई राहतका कार्यक्रम ल्याउने टीकापुर  नगरउपप्रमुख खड्कबहादुर शाहले बताए। “जताततैबाट क्षति भएको विवरण आउन थालेका छन्”, उनले भने, “आज कार्यपालिका बैठक र विपद् व्यवस्थापन समितिको बैठक बसेर राहतका कार्यक्रम ल्याउँछौँ।”
 

कमेन्ट लोड गर्नुस