दशकदेखि मल नपाएर पीडित छन् सुदूरपश्चिमका किसान
वीरेन्द्र भट्ट, धनगढीः कृषि बालीमा प्रयोग हुने युरिया, डीएपी र पोटास मलको उत्पादन नेपालमा हुँदैन। मागको सम्पूर्ण परिमाण आयात गरिन्छ। ६ महिनाअघि नै मल आयात हुनुपर्ने हो तर हुँदैन।
तीन तहका सरकार गठन भए पनि किसानले भने अझै सहज रुपमा मल पाउन सकिरहेका छैनन्। सुदूरपश्चिम प्रदेशका किसानले वर्षौदेखि आवश्यक मल नपाएर ठगिनु परेको छ। नेपालमा मुख्य गरी ओमान, जोर्डन, भारत, चीन, बंगलादेश, भियतनाम, रुस, बेलारुसलगायत मुलुकबाट मल आयात हुन्छ।
आयात गरिएको मल पनि समानुपातिक रूपमा वितरण नहुँदा सुदूरका किसान बर्सेनि मारमा पर्दै आएका छन्। सुदूरपश्चिम प्रदेशका किसान दशकदेखि मलको विभेदमा पर्दै आएको युवा नेता लोकराज पाण्डे बताउँछन्। ‘किसानले २० देखि ५० किलो मल सीमासम्म ल्याइपु¥याउँदा जफत गरिन्छ,´ उनले भने, `सरकार आफैले पनि मल दिन नसक्ने किसानले पैसा तिरेर बल्लबल्ल सीमासम्म ल्याइपु¥याएको मल पनि जफत गर्ने सरकारी नियत नै किसानको हितमा छैन्।’ किसानलाई सम्वृद्ध बनाउछु भन्ने सरकारले मलसमेत दिन नसकेको उनले बताए।
मल नीतिमा सहकारी संस्थामार्फत वितरण गर्ने व्यवस्था छ। किसानसँग नजिकको सम्बन्ध भएकाले बिक्रीका लागि कृषि सहकारी संस्थालाई जिम्मा दिइएको हुन्छ। सरकारले किसानका लागि युरिया मलमा ६५, डीएपीमा १५ र पोटासमा २२ प्रतिशत अनुदानको व्यवस्था गरेको छ। बाली र माटोको पोषण तत्व बढाएर बढी उत्पादन लिन रासायनिक मल चाहिन्छ। मुख्यतः चैतदेखि कात्तिकसम्म मल चाहिन्छ। आवश्यक सबै सिजनमा मल उपलब्ध गराउन सरकार असफल छ। पछिल्लो एक दशकको अवधिमा कुनै पनि वर्ष किसानले चाहिएको समयमा मल पाएका छैनन्। कैलालीमा धानखेतीका लागि १५ हजार मेट्रिकटन युरिया आवश्यक परे पनि मौज्दात शून्य छ।
डीएपी १० हजार मेट्रिकटन आवश्यक पर्नेमा एक हजार २ सय मेट्रिकटन मात्र उपलब्ध छ भने तीन सयको हाराहारीमा पोटास मौज्दात रहेको कृषि सामग्री कम्पनी धनगढीका प्रमुख नबलसिंह बोगटीले बताए। ‘युरिया नेपालमै नभएकाले किसानलाई मल दिन सकिएको छैन,´ उनले भने, `बाँकी मलको पनि मौज्दात निकै न्युन भएकाले मलको समस्या नै देखिएको छ।’
मल किन्न बिहानैदेखि स्थानीय सहकारी संस्था बाहिर दिनभर कुरेर बस्नुपर्ने किसानको दैनिकी नै बनेको छ। साल्ट ट्रेडिङ कर्पोरेशन धनगढीले आपूर्तिको ३० प्रतिशत जिम्मा पाए पनि अहिले मलको मौज्दान शून्य। मल आपूर्तिको ७० प्रतिशत जिम्मा कृषि सामाग्री कम्पनी लिमिटेडले पाएको छ। तर यो कम्पनीको धनगढी शाखामा अहिले मलको मौज्दात छैन। जसका कारण किसानले मल पाउन सकेका छैनन्। यसरी किसानले समयमै मल र बिउ नपाउने समस्या नयाँ होइन। यो समस्या हरेक वर्ष देखिँदै आएको छ।
असारसम्म युरिया तीन सय ८५ तथा डीएपी २ हजार एक सय ६९ मेट्रिकटन आइपुग्ने जानकारी प्राप्त भएको साल्ट ट्रेडिङ कर्पोरेशन धनगढीका प्रमुख केशवप्रसाद पाण्डेले बताए। ‘डीएपी वीरगन्जसम्म आइपुगेकाले छिट्टै धनगढीसम्म आइपुग्ने अपेक्षा गर्न सकिन्छ,’ उनले भने।
राम्रो उत्पादन लिन वैज्ञानिक आधारमा मलको प्रयोग, आवश्यक समयमा पर्याप्त पानी, गुणस्तरीय बीउ चाहिन्छ। यसमध्ये एउटाको पनि कमी भएको अवस्थामा ५ देखि १५ प्रतिशतसम्म उत्पादनमा कमी आउन सक्ने कृषिविज्ञ बताउँछन्।