कैलालीमा रोकिएन भारतबाट हुने चोरी तस्करी
धनगढीः सीमा क्षेत्रको सुरक्षा तथा भारतबाट हुने चोरी तस्करी नियन्त्रण गर्ने प्रमुख जिम्मा सशस्त्र प्रहरी बलको हो। सोहीअनुसार कैलालीको सीमा क्षेत्रको १८ वटा स्थानमा बोर्डर आउट पोष्ट(बिओपी)हरु पनि स्थापना गरिएका छन्। तर ती बिओपीको काम प्रभावकारी देखिएको छैन।
सशस्त्र प्रहरीले नै दिएको तथ्यांकअनुसार पछिल्लो साढे एक महिनामा मात्रै २२ लाख बढीको सामान तस्करी भएको छ। जिल्लाको धनगढी, कैलारी, भजनी, टिकापुर लगायतका क्षेत्रबाट उक्त सामान तस्करी भएको हो। जसमा चिनी, लुगाकपडा, किराना पसलका सामानदेखि हार्डवेयरका सामानहरु पनि तस्करी भएको देखिन्छ। यो तथ्यांकले पनि जिल्लामा तस्करी नरोकिएको कैलालीको सीमा क्षेत्रका स्थानीय किरण अधिकारीले बताए। ‘तस्करी रोकिएको छैन। कसलाई भन्ने ? प्रहरी प्रशासन पनि तस्करसँग मिलेको हुन्छ, उनले भने।
कैलालीको एक सय एक किलोमिटर क्षेत्रफल भारतसँगको खुल्ला सीमासँग जोडिएको छ। पछिल्लो समय अवैध नाका तथा विभिन्न घाटबाट हुने तस्करी बढ्दै गएको धनगढीको जुगेडा सीमा क्षेत्रका स्थानीय छविराज जोशीले बताए। ‘रातिको १२ बजेपछि तस्करी हुन्छ,’ उनले भने, ‘सशस्त्र प्रहरीको उपस्थिति प्रभावकारी देखिएको छैन।’
कैलालीमा मात्रै वैशाखदेखि जेठको आधा महिनासम्म २२ लाख ७ हजार ३ सय ४५ बराबरको सामान बरामद भएको छ। साढे एक महिनाको अवधिमा मात्रै २२ लाख बढीको तस्करी नियन्त्रणले पनि तस्करी बढेको देखिन्छ। विगतको तथ्यांक अनुसार पनि तस्करी बढ्दै गएको छ। सशस्त्र प्रहरीको कमजोर नेतृत्वका कारण जिल्लामा चोरी तस्करी कम हुन नसकेको बताइन्छ।
यता सशस्त्र प्रहरी बल नम्बर ३४ गण हेडक्वाटर कैलालीका सशस्त्र प्रहरी नायब उपरीक्षक देवराज जोशीले भने स्रोत र साधन र जनशक्तिले सकेजति तस्करी नियन्त्रण भइरहेको बताए। ‘केही ठाउँबाट तस्करी भइरहेको हुन्छ। हामीले नियन्त्रण पनि गर्दै छौं। जनशक्तिको पनि अभाव छ’ उनले भने।