‘निर्माण शुभारम्भ घोषणा’को डेढपछि सम्भाव्यता अध्ययन गर्न बजेट
कञ्चनपुरमा सुख्खा बन्दरगाह
धनगढीः ०७७ कात्तिकमा तत्कालिन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कञ्चनपुरमा सुख्खा बन्दरगाह निर्माणको शुभारम्भ भएको घोषणा गरे। दोधाराचाँदनीको मायापुरी र गौरीशंकर सामुदायिक वन क्षेत्रमा सुख्खा बन्दरगाह निर्माणको शुभारम्भ भएको घोषणा उनको थियो।
तर आइतबार प्रतिनिधि सभामा संघीय अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि बजेट भाषण गर्दै सुख्खा बन्दरगाहका लागि सम्भाव्यता अध्ययन गर्ने बताएका छन्। निर्माण कार्य सुरु भएको भनिएको बन्दरगाहका लागि सम्भाव्यता अध्ययन गर्ने भनेपछि अन्योलता सिर्जना भएको कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्लले बताए।
‘सम्भाव्यता अध्ययन भइसकेपछि फेरी किन सम्भाव्यता अध्ययन गर्ने,’ उनले भने, ‘यो भनेको भ्रममा पार्ने खेल हो भन्ने अनुभूति भयो।’ २०६४ सालमा कञ्चनपुरको दोधारा–चाँदनीमा सुख्खा बन्दरगाह निर्माणका लागि सरकारले प्रस्ताव गरको थियो। महाकाली पारी दोधारा–चाँदनीको गौरीशंकर र मायापुरी सामुदायिक जंगल क्षेत्रमा प्रस्तावित उक्त परियोजनाका लागि २ सय ८० बिघा जमिन प्राप्तिको सुनिश्चितता भइसकेको दाबी पनि गरिएको छ।
तर कहिले निर्माण सुरु भयो भन्ने त कहिले सम्भाव्यता अध्ययनको विषयलाई उल्लेख गर्दा नागरिकमा भने निराशा बढ्दै गएको छ। अहिलेको बजेटमा समावेस भएको उक्त विषयले नागरिकलाई थप चिन्तित बनाएको हो। यो परियोजना सुदूरपश्चिम प्रदेशमा विकासको कोशेढुंगा हुने अपेक्षा गरिएको छ। तर सरकारले सुख्खा बन्दरगाहका लागि प्रस्ताव गरेको १५ वर्ष वितिसक्दा पनि देखिने गरी भने कुनै काम हुन सकेको छैन।
उक्त क्षेत्रमा रहेका रुख कटानका लागि सुरु गरिएको वातावरणिय प्रभाव मुल्यंकनको काम पनि सकिएको छैन। बजेट निर्धारण गरेर काम अगाडि बढाउनु पर्ने दोधारा–चाँदनी नगरपालिकाका मेयर किशोरकुमार लिम्बुले बताए। ‘सम्भावना भएर नै केही काम सुरु भएको होला,’ उनले भने, ‘फेरी पनि त्यही विषयमा अल्झीनु ठिक होइन।’ सुख्खा बन्दरगाहका लागि जग्गाको व्यवस्थापन, स्थानीयको पुर्नस्थापना र भारतले दिने पहुँचमार्गको निर्णयसमेत हुन सकेको छैन।