सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा किन दोहोरिएनन् जनप्रतिनिधि ?

२०७९ जेठ १५, ०३:५१ रोशन भट्ट

धनगढीः सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीमा हालै सम्पन्न स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भए। २०७४ को स्थानीय तह निर्वाचन विजयी भएका नेपाली कांग्रेसका नेता नृपबहादुर वड पनि सत्ता गठबन्धनबाट मेयरका उम्मेदवार थिए। तर उनी स्वतन्त्र उम्मेदवार हमालसँग पराजित भएका छन्। 

उनले ५ वर्षको कार्यकालमा जनअपेक्षा अनुसार काम गर्न नसकेका कारण अहिले हार भोग्नु परेको आकलन गरिएको छ। ५ वर्षसम्म स्थानीय सरकारको नेतृत्व गरेकाहरु नै २०७९ वैशख ३० गतेको निर्वाचनमा  पराजित भएका हुन्। तर, धनगढीमा पराजित उम्मेदवार वड अपेक्षा अनुसार काम नगरेका कारण पराजित भएको स्वीकार गर्न तयार छैनन्। ‘चुनावी मैदानमा गएपछि जित हार भइहाल्छ। पाँच वर्षमा धेरै काम भएको छ। काम नै भएन भनेर बढी प्रचार गरियो,’ उनले भने। 

१३ वटा स्थानीय तह रहेको कैलालीमा अधिकांश जनप्रतिनिधिहरु २०७९ वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका थिए। जसमध्ये जिल्लाको घोडाघोडा नगरपालिकाका पूर्व मेयर ममता प्रसाद चौधरी पनि हुन्। नेकपा एमालेबाट उम्मेदवार बनेका उनी पनि पराजित भए। राम्रो काम  गर्दा पनि विभिन्न कारणले पराजित भएको धारणा उनको छ। ‘कर्मचारी अभाव, कानून निर्माणमा ढिलाई, कोरोनाको प्रभावले पनि जनताको अपेक्षा अनुसार काम गर्न नसकिएको हो,’ उनले भने, ‘म अझै पनि नागरिकको बीचमा छु। नागरिकसँगै हुनेछु।’ 

जिल्लाका अन्य स्थानीय तहमा पनि जन अपेक्षा अनुसार काम गर्न नसकेको देखिन्छ। त्यसकारण पनि अहिलेको स्थानीय तह निर्वाचनमा जनताले नयाँ व्यक्तिलाई छानेका छन्।  जिल्लाको गोदावरी नगरपालिकाकी पूर्व उप–मेयर रतना कडायत पनि पराजीत भएकी छिन्। पूर्व एमाले रहेकी कडायत एमालेकी उम्मेदवार शारदा रोकायासँग पराजीत भएकी हुन्।

उता कैलारी गाउँपालिकामा लाजुराम चौधरी, भजनीमा शेरबहादुर चौधरी, लम्कीचुहा नगरपालिकामा महादेव बज्गाई पनि पराजित भएका छन्। उनीहरु २०७४ को स्थानीय तह निर्वाचनमा विजयी भएका थिए। 

५ वर्ष स्थानीय तह चलाएकाहरु नै २०७९ को स्थानीय तहको निर्वाचनमा पराजित भएपछि उनीहरुले नागरिकका अपेक्षा अनुसार काम गर्न नसकेको धनगढीका नागरिक अगुवा प्रमोद पाठकले बताए। ‘स्थानीय तह भनेकै नागरिकको सम्पूर्ण काम गर्ने निकाय हो। गएको पाँच वर्षमा नागरिकका अपेक्षा अनुसार काम हुन सकेन। त्यसकारण जिल्लामा जनप्रतिनिधि नदोहोरिएका हुन्,’ उनले भने। 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस