सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा चोरी गर्ने ४ जना कैलालीमा पक्राउ, उता भारतीय प्रहरी निर्दोषलाई समात्दै

२०७८ चैत्र ३०, १२:०१ रोशन भट्ट

धनगढीः केही दिनअघि सुदूरपश्चिमका ४ जना युवाले भारतको लुधियानामा चोरी गरे। चोरी गरेपछि उनीहरु नेपाल फर्किए। तर भारतीय प्रहरीले भने लुधियानामै मजदुरी गर्ने अन्य ४ जना निर्दोष व्यक्तिलाई नियन्त्रणमा लियो। अमर बम, अर्जुन बम, दिर्घ बम र राम बम अहिले भारतीय प्रहरीको नियन्त्रण छन्। त्यसपछि पनि कविराज बम र शंकर बमसहित एकजना अर्का निर्दोष व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको छ। 

५ लाख बढी नगदसहित अन्य सामान चोरी गर्नेहरु नेपाल आएपछि उनीहरुसँगै काम गर्ने अन्यलाई भारतीय प्रहरीले पक्राउ गरेको हो। यती मात्रै होइन, पक्राउ परेका निर्दोष व्यक्तिलाई भेट्न जाने अन्य व्यक्तिलाई पनि भारतीय प्रहरीले नियन्त्रणमा राख्ने गरेको पक्राउ परेकाका आफन्त महेन्द्र बमले बताए। ‘घटनासँग संलग्न नभएका नेपालीलाई भारतीय प्रहरीले पक्राउ गर्दै दुःख दिने गरेको छ,’ उनले भने, ‘इमानदारीपूर्वक आफ्नो रोजीरोटी गरेर खाने नेपालीहरु समस्यामा परेका छन्।’

भारतमा चोरी गरेर नेपाल आएकाहरु पनि पक्राउ परिसकेका छन्। चोरी गर्ने चार जना युवालाई कैलाली प्रहरीले आफ्नो नियन्त्रणमा राखेको छ। पक्राउ पर्नेमा नकुल बम, राजी बम, प्रकाश बम, महेन्द्र बम रहेका छन्। चोरी गर्नेहरु पक्राउ गरेको खबर भारतीय प्रहरीलाई गर्दा पनि उताको प्रशासनले वास्ता गरिरहेको छैन। उल्टै भारतीय प्रहरीले थप ३ जनालाई पक्राउ गरेको छ। 

भारतमा फसेका निर्दोष मजदुरहरुले भने नेपाली प्रशासलाई सहयोग गर्न आग्रह गरेको बमले बताए। ‘नेपाल प्रहरीले इन्डियाको केश यताबाट हेर्न मिल्दैन भनिरहेको छ। हामीले कैलाली प्रहरी र सुदूरपश्चिम प्रदेश प्रहरीलाई यसबारे खबर पनि गरेका छौं,’ बमले भने। 

यता नेपाल प्रहरी प्रशासनले भने उक्त घटनामा धेरै सहयोग गर्न नसक्ने जनाएको छ। कानूनी अड्चनका कारण उक्त विषयमा सहयोग गर्न नसक्ने बताइएको छ। घटना भारतमा भएका कारण यता अनुसन्धान पनि गर्न नमिल्ने प्रहरीको भनाई छ। उता पक्राउ परेकाहरुको सवालमा पनि यताको प्रशासनले भन्दा राजदुतावसले सहयोग गर्नसक्ने हुँदा सोही निकायमा सम्पर्क गर्न अनुरोध गरिएको छ। 

चोरी भएर नेपालमा बरामद भएको नगद र अन्य सामान भने इन्टरपोलमार्फत पठाउने कैलाली प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए। ‘यता पक्राउ परेकालाई पठाउन मिल्दैन। नेपाल प्रहरीले यो घटनामा केही गर्न सक्दैन। भारतमा पक्राउ परेकाका आफन्तले राजदुतावास वा नेपालीका लागि काम गर्ने अन्य संस्थामा सम्पर्क गर्दा सजिलो हुन्छ,’ प्रवक्ता जोशीले भने। 

भारतमा चोरी गर्ने नेपाली गिरोहका कारण काम गर्ने वातावरण नै नभएको सुदूरपश्चिमेली मजदुर बताउँछन्। 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस