सुदूरपश्चिमले धानेका विभागिय टोली
धनगढीः बझाङका दीपकराज जोशीलाई भलिबल खेल्न लागेको १२ वर्ष पूरा भयो। धनगढीबाट २०६६ सालदेखि भलिबल खेल्न सुरु गरेका जोशीले ४ वर्षसम्म राष्ट्रिय टीममा भएर देशका लागि खेलीसकेका छन्। उनी अहिले नेपाल पुलिस क्लबमा आवद्ध छन्।
२०६८ देखि उनी क्लबमा संलग्न भएर भलिबल खेल्न थालेका हुन्। नेपाल पुलिस क्लबमा उनीसँगै सुदूरपश्चिमका ५ जना भलिबल खेलाडी छन्। खेल क्षमता राम्रो भएका खेलाडीलाई विभिन्न ठाउँमा अवसर रहेको उनले बताए। ‘मैले धनगढीबाटै भलिबल सिकेको हुँ,’ उनले भने, ‘६८ सालदेखि क्लबमा लागे। त्यसपछि व्यवसायीक भलिबल खेल्दै आएको छु।’
दार्चुलाका राजेन्द्र बिष्ट पनि नेपाली राष्ट्रिय टोलीका सदस्य हुन्। उनी अहिले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमा आवद्ध छन्। सेनाको विभागिय टिममा उनीसँगै ७ जना अन्य सुदूरपश्चिमका खेलाडी छन्। तर अहिले भने सेनाको टिमबाट विष्टसहित २ जनाले मात्रै प्रतियोगितामा सहभागिता जनाउँदै आएका छन्। राष्ट्रिय टिमसँगै विभागिय समूहमा पनि सुदूरपश्चिमका खेलाडीले अवसर पाउँदै आएको विष्टले बताए। ‘राष्ट्रिय टिममा सुदूरपश्चिमका खेलाडी बढी छन्,’ उनले भने।
सशस्त्र प्रहरी बलको एपीएफ क्लबमा पनि सुदूरपश्चिमका खेलाडी छन्। विनोद चन्द र टेकराज अवस्थी एपीएफबाट नियमित भलिबल खेल्छन्। खेलाडी उत्पादनमा अगाडि रहेको सुदूरपश्चिममा भने खेल क्षेत्रका लागि अपेक्षाकृत रुपमा हुन सकेको छैन। भौतिक संरचना र पूर्वाधारको अभावका बीच पनि सुदूरपश्चिमले राष्ट्रिय खेलकुदलाई योगदान दिँदै आएको छ।
प्रदेश सरकारले खेलकुदको क्षेत्रमा लगानी बढाउनु पर्ने प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहले बताए। ‘हामीसँग खेलकुदको क्षेत्रमा बजेट कम छ। भौतिक संरचना र पूर्वाधारको अभाव छ। यसमा प्रदेश सरकार गम्भीर बन्नु पर्छ,’ सिंहले भने।
सिंहका अनुसार शनिबार धनगढीमा सम्पन्न भएको मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको समापन कार्यक्रममा नेपाली टोलीको १५ वर्षसम्म कप्तानी गरेका अछामका भरत शाहसहित ९ जनालाई सम्मान गरिएको छ। सुदूरपश्चिम घर भएरै नेपाली टोलीको प्रतिनिधित्व गरिरहेका भलिबल खेलाडी राजेन्द्र बिष्ट, विनोद चन्द, दिनेश गिरी, विशाल विक, टेकराज अवस्थी, भैरव बम, रविन चन्द र दीपक जोशीलाई सम्मान गरिएको हो।