४४ वर्षीयले १५ वर्षको भन्दै विवाह गर्न खोजेपछि...
धनगढीः शनिबार कन्याको घरमा विवाहको तयारी सुरु भइसकेको थियो। निम्तालुहरू दुलहीलाई दिने उपहार बोकेर जम्मा भइरहेका थिए। मिस्ठान्न पाक्दै थियो। कन्याको सिंगार पटार चलिरहेको थियो।
जब दुलाहा दुई वटा मोटरसाइकलमा तीन जना बरियाती लिएर कन्याको घरमा साँझ आइपुगे तब विवाहको माहोल एकाएक बदलियो। भारतको उत्तर प्रदेश धनुसरा सिलवर नगरका ४४ वर्षीय मोहमद सलिम उद्धिनले आफूलाई १५ वर्षको भन्दै विराटनगर–१४ जतुवाको एक विपन्न परिवारकी १५ वर्षकै कन्यासँग विवाह गर्ने पक्कापक्की गरेका थिए। कन्याका अभिभावकले पनि दाइजो दिन नपर्ने भएपछि दुलाहाका बारेमा बुझ्दै नबुझी विश्वासको भरमा छोरी अन्माउने तयारी गरे। कन्या दिए एक रुपैयाँ पनि दहेज नलिने समिलको प्रस्तावपछि कन्यातर्फका अभिभावक राजी भएर शनिबारका लागि विवाहको तिथि पक्का गरे। त्यसबेलासम्म कन्याका परिवारले दुलाहालाई देखेकै थिएनन्। सलिमको विवाहको प्रस्ताव सुनसरी नरसिंहका नातामा आफन्त पर्ने कलिउद्धिनले लिएर आएका थिए।
दुलाहाको उमेर १५ वर्ष भनिएको थियो। कन्याका आफन्त मोहमद उजिरले भने, ‘उनको एक बित्ता लामो दाह्री देखेपछि कन्यापक्ष चकित भयौं। १५ वर्षको युवकको एक बित्ता लामो दाह्री ?’ त्यसपछि कन्यापक्षले दुलाहाको आधार र रासन कार्ड माग्दा देखाउन नमानेपछि कन्यापक्षले शंका मानी प्रहरीलाई बोलाउने तयारी गरे। दुलाहाले त्यसो नगर्न भन्दै आफ्नो फर्जी भोटर कार्ड देखाए। जसमा जन्ममिति सन् २००६ सेप्टेम्बर उल्लेख थियो। तर उनको शारीरिक बनावट र दाह्रीले सलिम १५ वर्षको हुनै नसक्ने भन्दै उपस्थितले आधार कार्ड नदेखाए प्रहरी बोलाएर ठगी मुद्दामा कारबाही गर्ने धम्की दिएपछि सक्कली आधार कार्ड देखाउन बाध्य भए।
उक्त आधार कार्डमा दुलाहाको जन्ममिति १९७८ जनवरीअनुसार ४४ वर्षको पाइयो। त्यसपछि कन्यापक्ष झनै आक्रोशित भए। युवतीले पनि आफू यस्ता ठगसँग विवाह नगर्ने भनेपछि कन्यापक्ष उक्त युवकलाई हातखुट्टा बाँधेर प्रहरीलाई जिम्मा लगाउन तम्सिए। त्यसैबेला दुलाहा बनेर आएका युवक मोटरसाइकल चढी जोगवनी नाका हुँदै भारततर्फ भागेका थिए।