सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना महामारी धनगढीका दिपेन्द्रका लागि बन्यो व्यवसाय सुरु गर्ने अवसर

२०७८ कार्तिक २३, ०९:२३ नारायण अवस्थी

धनगढीः कोरोना महामारीका कारण धेरैको रोजगारी गुमे पनि धनगढीका दिपेन्द्रका लागि भने कोरोना कहर गाउँमै व्यवसाय सुरु गर्ने अवसर बनेको छ। कोरोना महामारीका कारण विश्वव्यापी निषेधाज्ञा भएपछि स्वदेश तथा विदेशमा काम गर्ने युवा बेरोजगार हुन पुगेका थिए। तर धनगढी उपमहानगरपालिका वडा नम्बर ९ बंगरा गाउँका २९ वर्षीय दिपेन्द्र चौधरीलाई भने कोरोना महामारीले गाउँमै व्यवसाय गरेर रोजगारी सिर्जना गर्ने अवसर दिएको बताए।

२०७६ मा विश्वव्यापी रुपमा कोरोना महामारी आएपछि स्वदेश तथा विदेशमा काम गरिरहेको हजारौं व्यक्तिको रोजगारी गुम्न पुग्यो। रोजगारी गुमेको कारण तथा कोरोनाको त्रासका कारण धेरैजसो नेपाली विदेशबाट घर फर्किए। धनगढीको बंगरा गाउँका दिपेन्द्र चौधरी भने २०७६ मा निषेधाज्ञा हुनुभन्दा केही दिन अगाडि मात्रै मुम्बईबाट छुट्टीमा घर आएका थिए। मुम्बईको प्रसिद्ध ताज होटेलमा दुई वर्ष चाइनीज खानाको सेफ भएर काम गरेका चौधरी पनि निषेधाज्ञा भए सँगै काममा फर्कन पाएननन्। चार भाइमध्ये कान्छा चौधरी छुट्टीमा घर आएको समयमै उनको पिताको निधन भयो। त्यसपछि भाइहरुले अलग अलग बस्ने भनेपछि आमासँगै बस्दै आएका चौधरीले मुम्बई फर्किने विचार नै त्यागेको बताए।

'कोरोना पनि आयो घरमा बुवाको मृत्यु पनि भयो। दाइहरुले अलग-अलग बस्ने भनेपछि आमासँगै बस्नु पर्यो।' उनले भने, 'केही वर्ष बाहिर बसेर पैसा कमाउने सोचेको थिए कोरोनाले र घरायसी कारणले गाउँमै काम गर्ने अवस्थामा पुगायो।'

धनगढीमा होटेल व्यवस्थापन पढ्न चाहेको भएपनि दिपेन्द्रलाई उनका पिताले बीबीएस पढ्न कलेज भर्ना गरेका थिए। पहिलो वर्षको ६ महिना मात्रै पढेर गाउँकै साथीसँग उनी  मुम्बई गए। त्यहाँ होटल व्यवस्थापन विषय पढ्न पाइने ठानेका उनले कलेजबारे जानकारीसम्म पाउन सकेनन्। एक वर्ष चाइनीज रेष्टुरेन्टमा क्यासियर र वेटरको काम गरेका चौधरीको खाना पकाउनमा निकै रुचि देखेर रेष्टुरेन्ट सञ्चालकले भान्सामा खाना पकाउन र होटेल व्यवस्थापन विषय पढ्न कलेज भर्ना गरी दिएको चौधरीले बताए।

होटेल व्यवस्थापन पढ्दै र काम गर्दै पढाइ पुरा गरेका चौधरीले पढाइ सकेसँगै मुम्बईको ताज होटेलमा काम गर्न थालेका थिए। ताज होटेलमा दुई वर्ष काम गरेका उनको मासिक १ लाख तलब थियो। तर केही दिनका लागि विदामा घर आएका चौधरीलाई निषेधाज्ञाले मुम्वई फर्कन दिएन। थप पारिवारिक बाध्यताले पनि गाउँमै काम गर्न बाध्य बनाएको चौधरीले बताए।

त्यसपछि भने सिकेको सीपबाट स्वरोजगारसँगै अरुका लागि पनि रोजगारी सिर्जना गर्नुपर्छ भन्ने सोचे, चौधरीले भने। यही सोचले उनले बंगरा गाउँमै रहेको आफ्नै जग्गामा ५० लाखको लगानीमा गसिप डी क्याफे सञ्चालनमा ल्याएका छन्।

यो वर्षको बैशाख १७ गतेबाट चौधरीको गसिप डी क्याफे सञ्चालनमा ल्याएका हुन्।। लकडाउन भएको दोस्रो दिनबाट सञ्चालनमा आएको क्याफे निषेधाज्ञाभर निकै चलेको चौधरीले बताए। क्याफेमा चौधरीले गाउँक जनालाई प्रत्यक्ष रोजगारी दिएको बताएका छन्। उनले शान्त र गाउँको वातावरणमा चाइनीज र इन्डियन खानाका परिकार खान चाहने ग्राहकलाई ध्यानमा राखेर क्याफेमा लगानी गरेको बताए।

चौधरीले भविष्यको योजनासमेत बुन्न थालेका छन्। आफ्नै जग्गा भएको कारणले दीर्घकालसम्म प्रयोगमा आउने गरी व्यवसायको गाउँमै विस्तार गर्ने उनको योजना छ। भविष्यमा रिसोर्ट खोल्ने, विवाह तथा पार्टीका लागि पार्टी प्यालेस खोल्ने उनको योजना छ।

ऋण निकालेर व्यवसाय सुरु गरेको थोरै समय भएपनि आफ्नो पहिचान यहीँ पेशाबाट स्थापित गर्ने उनको अठोट छ। बंगरा गाउँको पहिचान र आफ्नो कामलाई एकसाथ अगाडि बढाउने सपना देख्ने गरेको उनले बताए।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस