सुदूर नेपाललाई विश्वसँग जोड्दै

मझगाउँ विमानस्थलको ठेक्का आह्वान भयो, बजेट स्वीकृत भएन, गोकुलेश्वरमा निर्माण सुरू

२०७८ कार्तिक १३, ०७:३१ रोशन भट्ट

धनगढीः सुदूरपश्चिम प्रदेशमा डडेल्धुराबाहेक अन्य सबै जिल्लामा विमानस्थल छन्। ५ पहाडी जिल्लाका विमानस्थल सञ्चालनमा भए पनि दार्चुलाको गोकुलेश्वर विमानस्थल भने २८ वर्षदेखि बन्द छ। तर पछिल्लो समयमा भने नेपाल नागरिक उड्डयन प्राधिकरणले गोकुलेश्वर विमानस्थलको निर्माण कार्य सुरु गरेको छ।

गत असारमा एक वर्षका लागि केएस निर्माण कम्पनीसँग ठेक्का सम्झौता समेत भइसकेको छ। ४ करोड ४२ लाखमा ठेक्का सम्झौता भए पनि अहिले मात्रै काम सुरु भएको छ। ७५ हजार घनमिटर माटो फिलिङ, कल्भर्ट निर्माण र ग्याविन जालीका लागि ठेक्का सम्झौता भएको निर्माण कम्पनीका प्रतिनिधि राजेन्द्र ऐरले बताए। ‘एक वर्षमा काम सम्पन्न गर्ने गरी सम्झौता भएको हो,’ उनले भने, ‘यसमा कालोपत्रेको योजना छैन।’

यता कञ्चनपुरको मझगाउँ विमानस्थलसमेत बन्द भएको लामो समय भइसकेको छ। केही वर्षदेखि पुनः सञ्चालनको चर्चा सुरु भए पनि अहिलेसम्म ठेक्का सम्झौता हुन सकेको छैन। संघीय, प्रदेश र स्थानीय सरकारले संयुक्त रुपमा निर्माण गर्ने विमानस्थलको काम बजेट स्वीकृत नहुँदा ढिलाइ भइरहेको हो।

१२ करोड भन्दा बढी लागत अनुमान गरिएको विमानस्थलका लागि ५० प्रतिशत बजेट संघीय सरकारले उपलब्ध गराउने भनिएको छ भने २५ प्रतिशत बजेट सुदूरपश्चिम प्रदेश सरकारले दिने घोषणा गरेको छ। कञ्चनपुरका दुई स्थानीय तह भीमदत्त र दोधारा चादनीले समेत बाँकी बजेट सहयोग गर्ने दाबी गरेका छन्।

तर संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बजेट स्वीकृत नगर्दा ठेक्का आह्वान भए पनि सम्झौता हुन नसकेको कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले बताए। ‘हामीले र प्रदेश सरकारले घोषणा गरेको बजेट दिइसकेका छौ,’ उनले भने, ‘संघीय मन्त्रालयले बजेट स्वीकृत गरेपछि सम्भौता हुन्छ।’ नेपाल नागरिक उड्डयन प्राधिकरणले ठेक्का सम्झौता गर्नका लागि सबै प्रक्रिया पुरा गरेको जनाएको छ।

ठेक्काका लागि केएस कान्छाराम निर्माण कम्पनी छनोट भइसकेको छ। विमानस्थलको धावमार्गलाई १६ सय मिटरको बनाइने योजना छ। तर बिहीबार कञ्चनपुर पुगेर दुई वर्षभित्र विमानस्थल सञ्चालन गर्ने घोषणा गरेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले मगर बजेट स्वीकृत गर्न भने ढिलाइ गरिरहेका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर नवल विक्रम थापाले अबको केही दिनमा बजेट स्वीकृत हुने दाबी गरे। ‘विगतमा मन्त्री नहुँदा बजेट स्वीकृत नभएको हो,’ उनले भने, ‘अबको केही दिनमै बजेट स्वीकृत गरेर ठेक्का सम्झौता हुन्छ।’

सुदूरपश्चिम घर भएका नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा डोटीबाट प्रतिनिधित्व गर्ने प्रेमबहादुर आलेमगर संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको जिम्मेवारीमा छन्। त्यसकारण पनि यस क्षेत्रका सबै विमानस्थल सञ्चालन हुने अपेक्षा धेरैको छ। तर कैलालीको टीकापुर विमानस्थलको सञ्चालनको विषय भने अझै पनि ओझेलमा छ।

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस