सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्थानीय उत्पादनले बजार नपाउँदा पेशा नै संकटमा परेको कृष्णपुरका किसानको गुनासो

२०७८ असोज ५, ०६:२० खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरका किसानले स्थानीय उत्पादनले बजार नपाउदा कृषि पेशा नै संकटमा परिरहेको गुनासो गरेका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालयद्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन पहल परियोजना अन्तरगत कञ्चनपुरको कृष्णपुर नगरपालिका स्तरिय मानवअधिकार समूहले आयोजना गरेको खाद्य अधिकारको अवस्था र सरोकारवालाहरुको भूमिका विषयक सम्वाद कार्यक्रमका सहभागीहरुले उक्त गुनासो गरेका हुन्। 

कृष्णपुर नगरपालिकाका व्यावसायिक केरा किसान अर्जुन जेठाराले आफुले ३ कट्ठा क्षेत्रफलबाट सुरु गरेको केरा खेती अहिले २७ विघा क्षेत्रफलमा गरिरहेको बताउँदै उत्पादित केराको बजारिकरणमा समस्या रहेको बताए।  भारतीय केरा बजारमा बिक्रि भइरहेको तर स्थानीय उत्पादनले बजार पाउन नसकिरहेको उनले बताए। व्यावसायिक किसानले उत्पादन गरेको कृषि उपजले उचित बजार मूल्य नपाउदा कृषि पेशा संकटमा परिरहेको उनले गुनासो गरे। 

स्थानीय आलु उत्पादक किसान गणेशबहादुर मल्लले माटो तथा हावापानीको परीक्षण बिनै डडेल्धुराको भात्काँडा जस्तो चिसो हावापानीमा उत्पादित आलुको बिउ कृष्णपुर नगरपालिकाको कृषि शाखामार्फत ५० प्रतिशत अनुदानमा पाएको तर उक्त बिउ नफलेको बताए। आफुले २५ किलो लगाएको उक्त आलुको बिउ २० किलो पनि नफलेको उनले बताए।

कार्यक्रममा बोल्दै जिल्ला किसान महासंघ कञ्चनपुरका अध्यक्ष शेरबहादुर सिंहले सरकारले दर्ता जमीनलाई आधार मानेर मलखादको आपूर्ती गर्दा मलखादको वर्षनी अभाव हुने बताए। उनले खेतीयोग्य जमीनलाई आधार मानेर मलखादको माग गर्न आग्रह गरे। 

कृष्णपुर नगरपालिकाको कृषि शाखा प्रमुख लालबहादुर धामीले नगरपालीकाले एक वडा एक उत्पादन अन्तरगत प्रति वडा ३ लाखका दरले बजेट विनियोजन गरेको बताए। उनले केरा किसानहरुलाई प्रोत्साहन गर्न स्थानीय स्तरमै केरालाई प्रशोधन गरेर विभिन्न परिकार बनाउने तथा केराको पात र रुखको चटाई लगायतका सामग्रीहरु बनाउने तालिम सञ्चालन गर्ने जानकारी दिए। केरा, मासु, तरकारी, दुध आदिमा कृष्णपुर नगरपालिका आत्मनिर्भर रहेकोले निर्यातमा ध्यान दिनुपर्ने उनले बताए।  

यस्तै कृष्णपुर नगरपालिकाको पशु स्वास्थ्य शाखा प्रमुख मानबहादुर केसीले स्थानीय तहमा उत्पादित कृषि उपज प्रदेश तथा केन्द्र सरकारले बजारिकरण गर्न नसकेको गुनासो गरे। 
त्यस्तै उपप्रमुख समिता रानाले किसानहरुलाई आवश्यक मात्रामा मलखाद तथा बिउ उपलब्ध गराउन नगरपालिकाले पहल गरिरहेको बताइन्। साथै उनले विभिन्न विषयगत शाखाका प्रमुखहरुलाई किसानका समस्याप्रति सजग रहन आग्रह गरिन्।

कमेन्ट लोड गर्नुस