सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका चेतनको ‘चम्पा’ टिकटकमा भाइरल

२०७८ साउन २, ०५:४३ रोशन भट्ट

धनगढीः नेपाली सांगितिक क्षेत्रको एउटा अंग मानिने सुदूरपश्चिमको मौलिक डेउडा देशभरी नै विस्तार हुँदै गएको छ। नयाँ पुस्ताका युवा कलाकारहरुले सुदूरपश्चिममा बाेलिने ‘टिपिकल’ भाषालाई आफ्नो सिर्जनामा प्रयोग गर्न थालेपछि डेउडा देशभरी नै विस्तार हुन लागेको हो। 

नयाँ प्रविधिसँगै संगीतमा प्रयोग हुने बाजाहरुका कारण पनि पछिल्लो समय डेउडाले आफ्नो उचाई लिएको संगितकर्मीहरुले बताउने गरेका छन्। यस क्षेत्रको भाषा, संस्कृतिमा सिर्जना हुने संगीत देशभरी नै चल्न सफल हुने गरेको छ। हुन त सुदूरपश्चिमको मौलिक डोटेली भाषा सुन्नमा नै आनन्द आउने खालको भएका कारण पनि संगीतका माध्यमबाट यस क्षेत्रको संस्कृति फैलिँदै गएको बताउनेहरुको संख्या पनि कमि छैन।  

पछिल्लो समय नेपाली सांगितिक क्षेत्रको सफलता तथा असफलता समाजिक सञ्जालले मापन गर्ने गरेको छ। आम दर्शक तथा स्रोताहरुले पनि कुन गीत सफल भयो भन्ने कुरा सहजै पत्ता लगाउन सक्छन्। केही समय अगाडिसम्म युट्युव र फेसबुकमा चलेका गीतहरुले मात्रै सफलता पाएको भन्ने जमात निकै ठुलो थियो। तर पछिल्लो समयमा आएर उक्त रेकर्डलाई टिकटकले तोडेको छ। अहिले बजारमा सार्वजनिक भएका गीतहरुले टिकटकमा भाइरल भएपछि मात्रै सफलता पाएको भन्ने चलन छ।

‘छाँई हान्ने गिठीको पारो ए चम्पा दही बनाउने ठेकी
धड्कनै रोकिन लाग्यो ए चम्पा तेरो अनुहार देखि’

यो एक गीतको टुक्का हो। गत असार २४ गते चेतन बोहराको युट्युव च्यानलबाट सार्वजनिक भएको ‘चम्पा’ गीतमा उक्त टुक्का समेत रहेको छ। नेपालभित्र सामाजिक सञ्चालन टिकटक प्रयोगकर्ताले सो टुक्का सुनेका छन् भन्दा फरक नपर्ला। सोही गीतका गायक हुन्, डोटीको पूर्वीचौकी पुर्खौली घर भएका गायक चेतन बोहरा। हाल काठमाडौंमा बस्दै आएका बोहराको परिवार कैलालीको गोदावरी नगरपालिमा पर्ने लालपुरमा बस्दै आएको छ। 

बोहरा सांगितिक क्षेत्रमा लागेको ५ वर्षभन्दा बढी भयो। उनले पछिल्लो समयमा सार्वजनिक गरेको गीत ‘चम्पा’ भन्ने बोलको छ। जुन गीत अहिले सामाजिक सञ्जाल टिकटकमा भाइरल छ। गयक बोहराका अनुसार उक्त गीतका सबै टुक्कामा ४० हजार भन्दा बढी टिकटक भिडियो बनिसकेका छन्। 

सुन्दर शब्द सिर्जना तथा संगीत दिनसक्ने झलक भट्टकै शब्द संगीतमा सार्वजनिक भएको उक्त गित ‘भाइरल’ बनेको हो। उनले यसअघि सार्वजनिक गरेका गीतहरुले यो प्रमाणित हुन्छ की भट्ट युवा पुस्तालाई आकर्षण गर्ने खालका संगीत सिर्जना गर्न सक्छन्। सोही क्रममा समय अनुसारका गीत सर्वजनिक गर्न रुचाउने गायक चेतन बोहराको भेट झलक भट्टसँग भयो। भट्टले यसअघि सिर्जना गरेका गीतहरु कार्णाली तुरुक्क, प्रदेशी भुलिग्यो भन्नेले पनि टिकटकमा निकै सफलता पाएको थियो। 

‘चम्पा’ बोलको गीतका शब्दहरु सुन्दा आफूलाई सुहाउने जस्तो लागेपछि बोहराले भट्टसँगको सहकार्यमा काम गर्ने निर्णय गरेको बताए। ‘अहिले टिकटक प्रयोकर्ता धेरै छन्। झलक जीको गीत पनि मैले सुनिराकै थिए। सोही क्रममा उहाँसँग चिनजान भयो। मलाइ सुहाउने गित बनाउनु भएको रहेछ, मलाई पनि मन पर्‍यो’ उनले भने, ‘गीत गाउदै गर्दा अहिलेको सफलत पाइन्छ जस्तो लागेको थियो।’

विगतमा पनि गायक बोहराले सार्वजनिक गरेका गीतहरुले निकै सफलता पाएका छन्। थोरै गीत सार्वजनिक भएपनि प्रायः सबै गितहरु ‘हिट’ छन्। सुदूरपश्चिमको मौलिक संस्कृतिलाई देशव्यापी रुपमा फैलाउनका लागि नयाँ ‘प्याटनमा’ सार्वजनिक भएका डेउडा गीतले राम्रो भूमिका खेलेको उनी बताउछन्। ‘पूर्व झापाका मान्छेपनि हाम्रा गीतहरु सुनिरहेका हुन्छन्,’ उनले भने, ‘भाषा कम बुझेपनि सुन्दा आनन्द आउने गरेको प्रतिक्रिया उहाँहरुको छ।’

आगामी दिनहरुमा संगित क्षेत्रमा निरन्तर लागिरहने उनको भनाई छ। समय परिवर्तन अनुसार गीत निकाल्ने योजना उनको छ। 


 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस