सुदूर नेपाललाई विश्वसँग जोड्दै

आफ्नी सहयोगीलाई कार्यालयभित्रै अँगालो हालेर चुम्बन गरेपछि गुम्यो मन्त्रीपद

२०७८ असार १३, ०१:३९

एजेन्सी: आफ्नी सहयोगीलाई कार्यालयभित्रै अँगालो कसेर गहिरो चुम्बन गरेका बेलायती स्वास्थ्यमन्त्री म्याट ह्यानककले पदबाट राजीनामा दिएका छन्। 

सहयोगी जिना कोलादान्गेलोसँग रोमान्स गर्दै गर्दा सीसीटीभी क्यामरामा उनको हर्कत कैद भएको थियो । त्यसलाई बेलायतको ट्याब्लोइड पत्रिका द सनले प्रमुख समाचार बनाएर छापेको थियो। पदबाट राजीनामा दिएपछि उनले पत्नी मार्थासँग पनि छोडपत्र गरेको र अब जिनासँग जीवन बिताउन खोजेको बेलायती सञ्चारमाध्यमहरूले खबर दिएका छन्। 

कोभिडको नियम पालन गर्नका लागि भौतिक दूरी कायम राख्न अरूलाई सल्लाह दिने मन्त्री आफैंले चाहिँ कार्यालयमा अर्की महिलासँग भौतिक सामीप्य बनाएको भन्दै चर्को आलोचना गरिएको थियो। प्रधानमन्त्री बोरिस जोनसनलाई राजीनामापत्र बुझाउँदै उनले जनताहरू महामारीको बेलामा इमान्दार रहेको र आफूले उनीहरूको विश्वास तोडेको उल्लेख गरे। 

उनको स्थानमा साजिद जाविदले स्वास्थ्य मन्त्रालय सम्हाल्नेछन्। लत्ताकपडा व्यवसायीकी पत्नी जिनालाई म्याट ह्यानककले सन् २०२० को आरम्भतिर बेतलबी सल्लाहकारका रूपमा मन्त्रालय भित्र्याएका थिए। पछि उनलाई तलबी सहयोगी सल्लाहकार बनाइएको थियो । उनले पनि राजीनामा दिने बताइएको छ। 

कमेन्ट लोड गर्नुस